रामेछाप । मन्थली नगरपालिकाले वडा नं–६ बेतिनीमा संचालन गरेको एक दिने निःशुल्क स्त्रीरोग उपचारमा १ सय ५६ जनालो सेवा पाएका छन् ।
मन्थली नगरपालिकाले भलुवाजोरको शहरी स्वास्थ्य केन्द्रमा गरेको शिविरमा महिलाहरुको आङ्खस्ने समस्या र पाठेघरको मुखको क्यान्सर लगाएतको परिक्षण गरिएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशबराज फुयालले जानकारी दिए । उनका अनुसार– मन्थली नगरपालिकाले आफ्ना ९ वटै वडा कार्यालयमा रहेका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
नगरपालिका भित्रका जेष्ठ नागरिक, महिला र अपाङ्गलाई लक्षित गरी संचालन गरिएको पहिलो चरणको स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली गाउँगाउँमा आएपछि उपचार लिन सदरमुकाम मन्थलीसम्म जानु पर्ने वाध्यता हटेको मन्थली नगरपालिका वडा नं–६ भलुवाजोर बेतिनीका हर्कबहादुर कसाईले जानकारी दिए ।
उनले भने– नगरपालिकाले आगामी वर्षपनि यसरी नै सबै वडाहरुमा नियमित रुपमा स्वास्थ्य जाँच निःशुल्क रुपमा गराइदिए हामीजस्ता आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई ठुलो राहात पुग्ने थियो ।