प्रहरी हस्तक्षेपका कारण खोप पुगेन–स्वास्थ्य शाखा

रामेछाप । सरकारले ६२ वर्षदेखी ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई लगाउन ल्याएको भेरोसेल खोप प्रहरी हस्तक्षेपका कारण जेष्ठ नागरिकलाई लगाउन नपाएको स्वास्थ्य शाखा मन्थलीले जनाएको छ ।
जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली नगरपालिका भित्रका ६२ देखी ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय रामेछापले पठाएको खोप प्रहरीले हस्तक्षेप गरेका कारण जेष्ठ नागरिक र जिल्लाका सञ्चारकर्मीलाई लगाउन नपाएको मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशवराज फुयालले जानकारी दिए ।
उनले भने– जिल्ला स्वास्थ्य कार्यालयवाट पठाइएको खोप जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी र संञ्चारकर्मीको लागि आएको थियो । खोप लगाउन प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत सुरक्षाकर्मीहरुले बढी हस्तक्षेप गरेका कारण अरुलाई लगाउन नपाएको भन्ने सूचना स्वास्थ्यकर्मीले दिएकाे फुयालले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयले मन्थली नगरपालिकाका जेष्ठ नागरिक, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुका लागि पहिलो जेठ २६ गते ३ सय भायल र दोश्रोपटक जेठ २७ गते ४ सय ५० भायल खोप पठाएको थियो । जसमध्ये दोश्रोपटकको खोपमा १ सय १५ जना सुरक्षाकर्मीले जर्वजस्त खोप केन्द्रमा पुगेर खोप लगाएपछि जिल्लाका संञ्चारकर्मी र जेष्ठ नागरिकहरुले खोप लगाउन वञ्चित भएका हुन् ।
खोप केन्द्रमा पुगेका प्रहरीले खोप हस्तक्षेप गरेको बिषयमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नबराज ढुंगानासँग सम्र्पक गर्दा उनले जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले अग्रभागमा खटिने सुरक्षाकर्मीलाई खोप लगाउन दिने निर्णय गरेकाले सुरक्षाकर्मीले खोप लगाएको बताए ।
उनले भने– मन्थली नगरपालिकाले सुरक्षाकर्मीलाई खोप लगाउन पठाइदिनु भन्ने सूचना गरेकाले मैले प्रहरीलाई खोप लगाउन केन्द्रमा पठाएको हुँ । अझै जिल्ला प्रहरी कार्यालय माताहतका धेरै सुरक्षाकर्मीले खोप लगाउन वाँकी रहेका छन् । खोप लगाउन आएका खाँडादेवी गाउँपालिकाको वडा नं ३ भिरपानीवाट आएका सुरक्षाकर्मीलाई खोप नपुगेपछि त्यतिकै फर्काएको उपरीक्षक ढुंगानाले बताए ।
मन्थली स्वास्थ्य शाखाले मन्थली नगरपालिकाका १४ वटा वडाका लागि २ हजार ३ सय ६२ जना जेष्ठ नागरिकहरुको लागि खोप माग गरेको थियो । मन्थली नगरपालिकाले माग गरेको खोप विश्वासको आधारमा जिल्ला स्वास्थ्य कार्यालयले दिदा समस्या आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । उनले भने– लक्षित वर्गलाई पठाएको खोप अन्य व्यक्तिले वढी लगाएको कारण खोपमा समस्या भएको हो ।
मन्थली नगरपालिकाले पालिका भित्रका २ हजार ३ सय ६२ जना जेष्ठ नागरिकहरुको लागि खोप माग गरेको थियो । जसमध्ये मन्थली नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्कं अनुसार ६२ देखी ६४ वर्ष उमेर समुहका हाल १ हजार ६ सय १२ जना जेष्ठ नागरिकहरुले खोप लगाउन वञ्चित भएको देखिन्छ ।