रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा नेपाली नागरिकता, राहादानी लिन आउने सेवाग्राहीको संख्यामा ह्वातै बृद्धि भएको छ ।
जिल्ला वाहिर वस्दै आएका नागरिकहरु दशैं मनाउन घर आएको समयमा नागरिकता र राहदानी समेत बनाएर फर्कने मनस्थिती बनाएर आएपछि जिल्ला प्रशासन कार्यालयमा नागरिकहरुको दैनिक भिडभाड बढेको हो । प्रशासन कार्यालयमा दशैंअघिसम्म २० देखी ४० वटासम्म नागरिकता वितरण ५ देखी २० वटासम्म राहदानीको सिफारिस गर्दै आएको थियो ।
दशैंको लामो सार्वजनिक विदापछि सरकारी कार्यालय खुलेसँगै जिल्ला प्रशासन कार्यालय रामेछापमा अहिले दैनिक १ सय ५० देखी २ सय ५० वटासम्म नयाँ नागरिकता वितरण हुँदै आएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको भिड थाम्नै नसक्ने अवस्था सिर्जना भएको छ । कार्यालयमा सेवा लिन आउने नागरिकहरुलाई कार्यालय समयपछि पनि सेवा प्रदान गर्दै आएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए ।
उनले भने– कार्यालयमा अहिले दैनिक सेवाग्राहीको भिड बढेको छ । नयाँ नागरिकता वितरणको अलावा अहिले दैनिक रुपमा ५० देखी ६० वटासम्म नागरिता प्रतिलिपि वितरण र दैनिक ६० देखी ७० वटासम्म राहादानी सिफारिसको काम हुने गरेको छ । यसवाहेक कार्यालयको अन्य दैनिक कामको लागि आउने सेवाग्राहीको संख्यामा समेत उल्लेख्य रुपमा बृद्धि भएको नायव सुब्बा भुजेलले बताए ।