प्रशासनको फितलो अनगुमन, अखाद्य कोसेली जुनार जुस बजारमा

रामेछाप । सदरमुकाम मन्थली बजारमा नै खाद्य प्रविधि विभागवाट नमुना परिक्षण समेत नगराई अखाद्य रुपमा डिलक्स एग्रो फरेष्ट्रि प्रोडक्ट्स प्रा.लि.ले उत्पादन गरेको कोसेली जुनार स्क्वास जुस बजारमा बिक्रीवितरण भएको लामो समय बितिसक्दा पनि उक्त कम्पनीलाई जिल्ला प्रशासन कार्यालयले कुनै कारवाहीको दायरमा ल्याउन सकेको छैन् ।
मन्थली नगरपालिका वडा नं–१ आकाशेमा रहेको डिलक्स एग्रो प्रोडक्ट्सले उद्योग दर्ता बिना नै विगत दुई वर्षदेखी जुनारको जुस उत्पादन गरेर विक्री वितरण गर्दै आएको छ । उद्योग संञ्चालन गर्न घरेलु तथा साना उद्योग कार्यालयमा अनिवार्य रुपमा उद्योग दर्ता गर्नु पर्ने र खाद्य तथा गुण नियन्त्रण विभागबाट जुस परिक्षण गराएर अनुज्ञा–पत्र लिएपछि मात्रै उत्पादित जुस विक्री वितरण गर्न पाइने कानुन भएता पनि त्यसको बर्खिलाप गर्दै सो कम्पनीले उत्पादन गरेको जुस बजारमा विक्रीबितरण गर्दै आएको हो ।
कम्पनीले तीन प्रकारको फरक–फरक जुस उत्पादन गर्दै विक्रीवितरण गर्दै आएको छ । अनुगमन आइहालेको खण्डमा कम्पनीले फरक जुस देखाउने गरेको छ । त्यस्तै खाद्य तथा गुण नियन्त्रण विभागमा स्याम्पलको रुपमा दिन त्यही अनुसारको जुस उत्पादन गरेर राख्ने र बाँकी बजारमा विक्री गर्न लैजाने जुस कमसल किसिमको निकालेर विक्रीवितरण गरेको लामो समय वितिसक्दा पनि जिल्ला अनुगन समितिले केही कारवाही गर्न सकेको छैन् ।


केही समयअघि अनुगमनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारीे संयोजक्तवमा निस्किएको बजार अनुगमन टोलीले अवैद्य रुपमा जुस उत्पादन गरि विक्रीबितरण गरेको फेला पारेपछि अनुगमन टोलीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागवाट अनुज्ञा–पत्र नल्याएसम्म उक्त जुस वजारमा विक्रीवितरण नगर्न कम्पनी संचालक रामबाबु गिरीलाई निर्देशन दिएको थियो ।
अनुगमन समितिले एकहप्ता भित्र उद्योग दर्ता गरि उद्योग दर्ताको कागजात सहित घरेलु तथा साना उद्योग विकास कार्यालयमा उद्योग दर्ता गरेको भएता पनि अहिलेसम्म खाद्य तथा गुण नियन्त्रण विभागवाट अनुज्ञा–पत्र नल्याएकाले तत्काल आवश्यक कारवाही गर्ने घरेलु तथा साना उद्योग विकास कार्यालय रामेछापका बरिष्ठ उद्योग अधिकृत मेघनाथ गौतमले जानकारी दिए ।
उनले भने– अनुगमन समितिले उद्योग दर्ता गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागवाट अनुज्ञा–पत्र ल्याएपछि मात्रै उत्पादित जुनार जुस विक्रीवितरणको लागि वजारमा लैजान दिएको निर्देशनलाई वेवास्ता गर्दै जुस उद्योगका संचालक गिरीले मनलाग्दी रुपमा अखाद्य जुनार जुस बजारमा विक्रीवितरण गर्दै हिडेको सूचना कार्यालयमा पनि प्राप्त भएकाले आवश्यक कारवाहीको प्रक्रिया अघि वढाउने बताए ।
अखाद्य रुपमा डिलक्स एग्रो फरेष्ट्रि प्रोडक्ट्स प्रा.लि.ले उत्पादन गरेको कोसेली जुनार स्क्वास जुस अहिले रामेछापको अलावा छिमेकी जिल्ला सिन्धुलीको खुर्कोट, मुलकोट, नेपालथोक, सिन्धुली, रातमाटा लगाएतका स्थानहरुमा विक्रीवितरण हुँदै आएको छ । जुसको नमुना परिक्षण नगराई विक्रिवितरण गर्न नपाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रमोदचन्द्र पौडेलले जानकारी दिए । उनले भने– खाद्य तथा गुण नियन्त्रण विभागवाट उत्पादित जुसको नमुना परिक्षण नगराई जुस उत्पादन गर्ने र विक्रीवितरण गर्ने कम्पनीका संचालकलाई आवश्यक कारवाही गछौं ।


वजारमा अखाद्य जुस उत्पादन गरि विक्रीवितरण गर्ने कम्पनीका संचालकलाई आवश्यक कारवाही गर्ने रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जानकारी दिए । उनले भने– अहिले प्रशासनमा जनशक्ति अभाव भएकाले केही समयदेखी बजार अनुगमनलाई कडाई गर्न सकेका छैनौ । यसलाई तत्काल कारवाहीको लागि आवश्यक प्रक्रिया थालनी गरिने प्रजिअ सैजुले बताए ।

Facebook Comments Box