प्रधानमन्त्री र न्यायाधीशहरुको गोप्य भेटघाटको विषयमा इजलासमै चर्का चर्की

काठमाडौँ । प्रधानमन्त्री के पि शर्मा वलीलाई न्यायाधीशहरुले गोप्य रुपमा भेटघाट गरेको भन्दै इजलासमै आरोप पर्त्यारोप लगाउदै बहस भएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन अवस्थामा रहेकै बेला न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै रिट निवेदकले असन्तुष्टि जनाएका हुन् ।
रिट निवेदक तथा विघटित प्रतिनिधिसभा सदस्य शशी श्रेष्ठले पुस २६ र २७ गते ४ न्यायाधीशहरुले गोप्यरुपमा प्रधानमन्त्रीलाई भेटेको भन्दै संवैधानिक इजलासमा आपत्ति जनाएकी हुन् । उनले मुद्दा चलिरहेको बेला विपक्षी प्रधानमन्त्रीसँग इजलासमा रहेका न्यायाधीशहरुले भेट्नुले गम्भीर प्रश्न उठेको बताइन् ।
उनले संवैधानिक इजलासमा भनिन्, ‘न्यायाधीशहरु सपना प्रधान मल्ल, दिपक कार्की, मिरा खड्का र हरिकृष्ण कार्कीले प्रधानमन्त्रीलाई भेट्नु शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छ ।’ यस्ता गतिविधिले जनतामा न्यायालयप्रति विश्वास टुट्ने श्रेष्ठको भनाइ थियो । रिट निवेदकको तर्फबाट बोलेकी उनले पुस २६ गते न्यायाधीश दिपक कार्की र मीरा खड्काले राति ८ बजेदेखि ९ः१० बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको सुन्नमा आएको बताइन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले यस्ता कुरा इजलासमा नराख्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।