पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त भएपछि तीन सांसदले दिए राजीनामा

बुटवल । नेकपा एमालेका तिनजना सांसदले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंंकर पोखरेललाई नियुक्त गरिएपछि राजीनामा दिएका छन् । आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई मुख्यमन्त्रीमा पुनः नियुक्त गरेपछि उनीहरूले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन् । तीनै जना सांसदहरुले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको बताएका छन् । त्यस्तै गरी नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् ।