न्यायीक समितिका सदस्यले लगाएको वाल उपभोक्ता समितिले भत्काए

रामेछाप । मन्थली नगरपालिकाका न्यायीक समितिका सदस्य एवं बोगटी एण्ड ब्रदर्श निमार्ण सेवाका प्रोपाइटर नारायण बहादुर बोगटीले ठेक्का लिएर बनाउँदै गरेको भवनको वाल मन्थली खानेपानी उपभोक्ता समितिका सदस्यहरुले भत्काइदिएका छन् ।
मन्थली खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत मन्थली नगरपालिका वडा नं १ चुच्चे ढुङ्गामा रहेको खानेपानी रिजर्भ ट्याङ्की छेउमा भवन निमार्ण हुन लागेको हो । दुई कोठे पालेघर निमार्णको ठेक्का लिएका न्यायीक समितिका सदस्य बोगटीले प्रयोग गरेको सामाग्री कमसल र लगाएको वाल नै गुणस्तरहिन भएको भन्दै सबै गारो भत्काइदिएको मन्थली खानेपानी उपभोक्ता समितिका सदस्य दीपकराज दाहालले जानकारी दिए ।
उनले भने– काम राम्रो र गुणस्तर हुन्छ भनेर हामीले निमार्ण समिति गठन गरेर कामको जिम्मेवारी न्यायीक समितिका सदस्य एवं निमार्ण व्यवसायीलाई दियौँ । अरुले गरेको कामको अनुगमन र खवरदारी गर्ने न्यायीक समितिका सदस्यले राम्रो गुणस्तरको काम गर्लान भन्नेमा हामी विश्वस्त थियौ । तर कामको जिम्मेवारी पाएका निमार्ण व्यवसायीले गरेको काम देख्दा हामी लज्जित हुनु परेको सदस्य दाहालले बताए ।


पाले घर निमार्णको निरिक्षणमा पुगेका संघिय खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन प्रमुख राजेन्द्र सापकोटाले निमार्ण व्यवसायीले गरेको कामको एकरुपैयाँ पनि भुक्तानी नगर्ने जानकारी दिए । उनले भने– यस्तो गुणस्रहिन काम मैले अन्त कहीँ पनि देखेको    छैन् । अहिले लगाएको सवै वाल भत्काएर गुणस्तर काम नगरेसम्म कार्यालयले एक रुपैयाँ पनि भुक्तानी नदिने ठोकुवा समेत गरे ।
खानेपानी खोल्न र बन्द गर्न पालेहरुलाई असहज भएको भन्दै मन्थली खानेपानी उपभोक्ता समितिले संघिय खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसँग रकम माग गरेको थियो । उपभोक्ता समितिको मागको आधारमा संघिय खानेपानी डिभिजन कार्यालयले दुई कोठे पालेघर निमार्णको लागि चालु आर्थिक वर्षमा ११ लाख रुपैयाँ प्रदान गरेको थियो । सोही रकमवाट उपभोक्ता समितिले आफै काम नगरी निमार्ण समिति गठन गरेर कामको शुरुवात गरेको हो ।


मन्थली खानेपानी उपभोक्ता समितिले असार १५ गते भित्र काम सम्पन्न गर्ने गरी संघिय खानेपानी डिभिजन कार्यालयसँग सम्झौता गरेको थियो । तर अहिलेसम्मको कामको प्रगती हेर्दा असारमसान्तसम्म पनि काम सक्ने छाँटकाट नदेखिएको मन्थली खानेपानी उपभोक्ता समितिका सदस्य हरिशरण सुवेदीले वताए ।


न्यायीक समितिका सदस्य एवं निमार्ण व्यवसायी बोगटीले मन्थली नगरपालिका भित्र खानेपानी योजना लगाएत विभिन्न योजनाको कामको जिम्वेवारी पाएका छन् । अहिले उनले गरेको दुई कोठे पाले घर निमार्णको अवस्था हेर्दा उनका बाँकी योजनाका कामहरु कति गुणस्तर युक्त हुन्छन् भन्ने बिषयमा सबैले चासोको रुपमा हेरेका छन् ।

Facebook Comments Box