निर्वाचन कार्यालयले मतदाता नामाबली अद्यावधिक गर्दै

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले यसअघि फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएता पनि नामावलीमा दोहोरोपन र त्रुटी भएका मतदाताहरुको नामावली अद्यावधिक गर्ने काम शुरु भएको जनाएको छ ।
निर्वाचन कार्यालयले वुधवार जिल्ला समन्वय समितिको सभाहलमा गरेको मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुलाई सो कुराको जानकारी गराएको हो । कार्यक्रममा निर्वाचन कार्यालयले आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी शुरु गरेको बताएको छ ।
सरकारले निर्वाचन तालिका सार्वजनिक गरेसँगै जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचनको तयारी शुरुवात गरेको हो । निर्वाचन कार्यालयले पहिलो चरणमा रामेछापका मतदाता नामावलीमा नाम दर्ता गर्दा विभिन्न त्रुटिहरु भएका मतदाताहरुलाई आफ्नो नामावली सुधार्न समयसिमा दिएको छ ।
कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रम स्थानिय तहको केन्द्रलाई आधारमानी सञ्चालन गर्न लागेको हो । स्थानिय तहमा माघ १५ गतेदेखी २१ गतेसम्म र जिल्ला निर्वाचन कार्यालयमा माघ १५ गतेदेखी २६ गतेसम्म मात्रै मतदाता नामावली अद्यावधिक गर्न मिल्ने जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत शम्भु कटुवालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको संयोजकमा भएको उक्त कार्यक्रममा जिल्ला समन्य समितिका प्रमुख प्रेमवहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सहभागीहरुले १८ वर्ष पुरा गरेका नागरिकहरुले पनि मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
यसअघि भएका निर्वाचनमा जिल्लाका धेरै मतदान स्थलहरु अपाएक स्थानमा भएकाले अब हुने निर्वाचनमा सबै मतदाताहरुलाई सहज र सरल हुने स्थानमा मतदान केन्द्र हुनु पर्ने नेपाली काँग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठले बताए । उनले भने– मतदान केन्द्र अपायक स्थानमा हुँदा धेरै मतदाताहरुले मतदानमा भाग लिन सकेनन् । अब पहिलाको जस्तो मतदान केन्द्र टाढा राख्नु भएन श्रेष्ठले जानकारी दिए ।


यसअघिको निर्वाचनमा रामेछापका ९० वटा मतदान स्थल र १ सय ९० वटा मतदान केन्द्र निर्धारण गरिएको थियो । आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनमा रामेछापका ९० वटा मतदान स्थल र २ सय ३ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । विगत वर्षमा भएको निर्वाचनको क्रममा राखिएको मतदान स्थल थपघट गर्ने र पायक अपायकको बिषयमा जानकारी गराउन जिल्लाका सवै राजनितिक दलहरुलाई परिपत्र गरिएकाले समयमा नै निर्वाचन कार्यालयलाई सुझाव दिन जिल्ला निर्वाचन कार्यालय रामेछापका नायव सुब्बा गणेश थापाले जानकारी दिए ।
कार्यक्रममका संयोजक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले निर्वाचनको मिति तय भएसँगै निर्वाचन सम्वन्धी गतिविधिहरु जिल्लामा शुरुवात भइसकेकाले त्यही अनुसार सुरक्षा व्यवस्था पनि मिलाइएको जानकारी दिए । अन्र्तक्रिया कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुखहरु र जिल्ला स्थित सञ्चारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

Facebook Comments Box