रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँमा रहेको स्थानापती माहादेव मन्दीर धर्म संगै मनोरञ्जनको संगम स्थल बनेको छ । मन्थली नगरपालिकाको लगानीमा सिँढि निर्माण भए संगै मानिसहरु फोटो खिच्न र टिकटक बनाउन जानेको चहलपहल बढेको छ । सिँढि निर्माण भए संगै पूर्वको दोश्रो पशुपतिनाथको रुपमा चिनिने बाहुनचुरामा रहेको स्थानापति महादेव मन्दिरमा पछिल्लो समय भक्तजनको चहलपहल पनी बढन थालेको छ । मन्दिरमा दर्शन गर्नको शाथै मनोरञ्जन गर्न रामेछाप बाहेक दोलखा सिन्धुली ओखलढुङा लगाएत काठमाण्डौ बाट समेत मानीसहरु आउने गरेका छन् । वडाको सक्रियतामा नगरपालिकाले निर्माण गरेको सिँढि आर्कषक देखिएकोले समेत मानीसहरु दैनिक फोटो खिच्न र टिक टक बनाउन भिडभाड हुने गरेको स्थानियको भनाई छ ।
विशेष गरी सन्तान नभएको दाम्पत्तिले स्थानापती मन्दिरमा गएर सन्तान माग्दा सन्ता लाभ हुने जनविश्वास रहेको मन्दिरमा अहिले दैनिक सयौं भक्तजनको भिड लाग्ने गरेको छ । बहिरा महादेवको रुपमा चिनिने स्थानापति महादेव मन्दिरको प्रवद्र्ध गर्ने उद्देश्यले नगरपालिकाले मन्दिरसम्म जाने गोरेटो बाटोलाई फराकिलो बनाएर सिँढि निर्माण गरेपछि भक्तजनको संख्यामा बृद्धी भएको हो । महादेव मन्दिर प्रबद्र्धनको लागि मन्थली नगरपालिकाले ८० लाख रुपैयाँ बजेट विनियोजन गरि सिँढि निर्माण गरेकोे छ । काठमाडौंको पशुपतिनाथ र हलेसी महादेवपछि नेपालको तेश्रो तथा पूर्वको दोश्रो पशुपतिनाथको रुपमा पुजिने थानापति महादेव मन्दिर जाने बाटो अप्ठेरो ठाडो उकालो भीर भएकाले भक्तजनको सहजताको लागि सिँढि निर्माण गरिएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए ।
थानापति महादेव मन्दिर सदरमुकाम मन्थलीबाट १५ किलोमिटरको दूरीमा रहेको छ । मन्थलीबाट गेलु, फुलासी र मन्थली बाट चनखु हुँदै जादा महादेव मन्दिर परिसरसम्म सवारी साधन पुग्ने भए पनि मन्दिरको काखमा रहेको भीरमा सानो महादेव लगायतका देवताथानहरु रहेकाले भक्तजनहरु भीरको बाटो भएर नै मन्दिर जाने गरेकोले सिँढि निर्माण संगै सिँढिको डिल साइटमा रेलिङ्ग हालिनेकाम सम्पन्न भइसकेको मन्थली नगरपालीका–९ का वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगर (भरत)ले बताए । साथै भक्तजनहरुलाई खानेपानी धाराको समेत ब्यवस्था गरिएको अध्यक्ष मगरले जानकारी दिए । स्थानापाती मन्दिरमा विषेशगरी शिवरात्री, तीजपर्व, ठूलो एकादशी, बालाचर्तुदशी, ऋषि पञ्चमी र श्रावण पूर्णिमाजस्ता पर्वमा भब्य मेला समेत लाग्ने गरेको छ ।