रामेछाप । पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चेकजाँचमा कडाई गरेसँगै जिल्लाका विभिन्न स्थानबाट १५ वटा चोरीका मोटरसाइकल बरामद गरेको छ ।
चोरीमा संलग्न गिरोहले राजधानी काठमाण्डौं, ललितपुर, भक्तपुर लगाएतका विभिन्न जिल्लाहरुवाट मोटरसाइकल चोरी गरि रामेछापमा ल्याएर विक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले चेकजाँच बढाएको हो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेसँगै एक महिनाको अवधिमा रामेछापवाट १५ वटा चोरीको मोटरसाइकल बरामद गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख चन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले भने– मोटरसाइकल चोरी गरि बाहिरी जिल्लावाट रामेछाप भित्राएर चोरीमा संलग्न गिरोहले विक्री गरेका मोटरसाइकल प्रहरीको आँखा छल्दै ग्रामिण भेगमा बढी मात्रामा कुदाउने गरेको सूचना पाएपछि प्रहरीले अभियान नै चलाएर धमाधम पक्राउ गर्न थालिएको छ । प्रहरीले चलाएको यो अभियान हरेक गाउँका बस्तीबस्तीसम्म पुर्याउने गरी योजना अघि वढाएको प्रमुख श्रेष्ठले बताए ।
केही दिनअघि प्रहरीले चेकजाँचको क्रममा रामेछाप नगरपालिका–७ सुकाजोरवाट बा ८२ प ७१७३ नम्वरको पल्सर मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाइकल नयाँवानेश्वर स्थित शान्तिनगरको खरिवोटवाट हराएको भनि सवारीधनीले खोजविनको लागि प्रहरी बृत नयाँवानेश्वर निवेदन दिएका थिए । सोही निवेदनको आधारमा प्रहरीले देशभरका प्रहरी युनिटलाई उक्त मोटरसाइकल खोजी गर्न पत्राचार गरेको थियो ।
सोही पत्रको आधारमा ट्राफिक प्रहरीले जिल्लामा चेकजाँच बढाउँदा रामेछापका सुकाजोरवाट उक्त मोटरसाइकल फेला पारेको हो । प्रहरीले फेला पारेको मोटरसाइकल धनी इलाम जिल्ला सूर्योदय नगरपालिका–६ कन्याम घर भई हाल पुरानो वानेश्वर–३२ बस्ने गोपाल निरौलालाई खबर गरी उक्त मोटरसाइकल हस्तान्तरण गरेको छ ।
यसैगरी प्रहरीले चेकजाँचको नियन्त्रणमा लिएका मोटरसाइकलहरु मध्ये ५ जना सवारीधनी अहिलेसम्म पनि प्रहरीको सम्र्पकमा आएका छैनन् । ती वाहेक प्रहरीले ३ वटा मोटरसाइकल र धनीलाई आवश्यक कारवाहीको लागि नयाँ वानेश्वर बृत्त र थानकोट बृत्त लगाएतको स्थानमा पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ । केही दिनअघि मात्रै जिल्ला प्रहरी कार्यालय रामेछापले मोटरसाइकल चोरीमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।