दुरागाउँ र सैपुमा गाईबस्तुमा अज्ञात रोग, चौपाया मर्न थालेपछि किसान चिन्तीत

रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लिखुतामाकोशी गाउँपालिका वडा नं–१ दुरागाउँ र वडा नं–२ सैपुमा किसानहरुले पालेका गाईबस्तु, भैसी र बाख्रामा देखा परेको अज्ञात रोगका कारण चौपाया भटाभट मर्न थालेपछि त्यस गाउँका किसानहरु चिन्तीत बनेका छन् ।
केही दिनदेखी देखा परेको उक्त रोगवाट लिखु तामाकोशी गाउँपालिका वडा नं–१ दुरागाउँका किसान राजकुमार स्याङ्तानको घरमा पालेका ४ वटा भैंसी मरेका छन् । त्यसैगरी सोही गाउँका अन्य किसानहरुको १६ वटा चौपायाहरु समेत मरेका छन् । चौपायामा देखा परेको उक्त रोग शुरुमा र्याल काड्ने, ठूलोठूलो सास फेर्ने, झोक्राउने, मान्छे र पशुलाई हान्ने र अन्तिममा ती पशुहरु मर्ने गरेको स्थानिय कुमार तामाङले जानकारी दिए ।
उनले भने– शुरुमा घरमा पालेको पशुलाई रेविज रोग पो लागेकी छ की जस्तो भयो । गाईगोठमा वस्तुलाई घाँस हाल्दा जाँदा पशु झोक्राईरहेको देखे । घाँस हाल्दा घाँस पनि खाएन, पानी दिए पानी पनि खाएन । गोरुले एकदम स्वास्वा गरेर लामोलामो सास फेर्यो । छेउमा जाँदा त मलाई हान्न आयो, त्यसपछि गोरु आफै मर्यो ।
शुरुमा लिखुतामाकोशी गाउँपालिका वडा नं–१ दुरागाउँ जगमाने ढुंगागाडेका फुर्वा तामाङको गोरुमा देखा परेको यो रोग अहिले विस्तार दुरागाउँ र छिमेकी गाउँ सैपुमा समेत देखा परेको छ । उक्त रोगवाट धेरै पशुहरु मर्दा लाखौ रुपैयाँ नष्ट भएको भन्दै किसानहरु चिन्तीत बनेका छन् । पशुमा अज्ञात रोग देखापरेपछि किसानहरुले लिखुतामाकोशी गाउँपालिका पशु सेवा शाखामा औषधी समेत खोज्न गए, तर औषधी भने उनीहरुले पाउन सकेका छैनन् ।
अहिलेसम्म दुरागाउँका राजकुमार स्याङ्तानले पालेका ४ वटा भैंसी र गाउँका ९ वटा कुकुरहरु मरेका छन् । त्यस्तै सैपुका अर्का किसान रामकाजी श्रेष्ठको १ भैंसी र ३ वटा बाख्रा मरेका छन् । यो रोग अन्य गाउँका किसानहरुको पशुहरुमा समेत देखा परेको छ । रोग एक घरवाट अर्को किसानको घरमा देखा पर्न थालेपछि त्यस गाउँका किसानहरुमा थप चिन्ता थपिएको छ ।
गाउँका किसानहरुले पालेका पशु चौपायाहरु एकपछि अर्को गर्दै मन थालेपछि किसानहरुले आफुलाई खवर गरेको लिखुतामाकोशी गाउँपालिका वडा नं–२ सैपुका वडा अध्यक्ष पद्म तामाङले जानकारी दिए । उनले भने– किसानहरुले वस्तु मर्न थालेपछि मलाई खवर गर्नुभयो । मैले घटनाको बिषयमा गाउँपालिकाको अध्यक्षलाई जानकारी गराएको छु, अध्यक्ष तामाङले बताए ।
पालिकाको दुरागाउँ र सैपुमा किसानहरुले पालेको चौपायामा देखा परेको अज्ञात रोगको बिषयमा सैपुका वडा अध्यक्षले आफुलाई टेलिफोन मार्फत जानकारी गराएकाले तत्काल त्यस गाउँमा औषधी सहितको पशु स्वास्थ्य कर्मचारी पठाउने तयारी भइरहेको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले जानकारी दिए ।
उनले भने– किसानहरुले पालेको पशुमा देखा परेको अज्ञात रोगका कारण पशु मरेको खबरले चिन्तीत छु । पशु प्राविधिकलाई रोगको पहिचान गर्न र आवश्यक औषधीको व्यवस्थापनको लागि समेत आफुले निर्देशन दिइसकेको पनि अध्यक्ष खड्काले बताए ।

Facebook Comments Box