दर्ता बिनाको कोसेली जुनार जुस उद्योग बन्द गरिने

रामेछाप । सदरमुकाममा उद्योग दर्ता बिनै र खाद्य परिक्षण विभागवाट नमुना परिक्षण समेत नगराई संचालन हुँदै आएको डिलक्स एग्रो फरेष्ट्रि प्रोडक्ट्स प्रा.लि.ले उत्पादन गरेको कोसेली जुनार स्क्वास जुस उत्पादन गर्ने कम्पनी बन्द गरिने भएको छ ।
मन्थली नगरपालिका वडा नं–१ आकाशेमा रहेको डिलक्स एग्रो प्रोडक्ट्सले उद्योग दर्ता बिना नै विगत दुई वर्षदेखी जुनारको जुस उत्पादन गरेर विक्री वितरण गर्दै आएको थियो । उद्योग संञ्चालन गर्न घरेलु तथा साना उद्योग कार्यालयमा अनिवार्य रुपमा उद्योग दर्ता गर्नु पर्ने र खाद्य तथा गुण नियन्त्रण विभागबाट जुस परिक्षण गराएर अनुज्ञा–पत्र लिएपछि मात्रै उत्पादित जुस विक्री वितरण गर्न पाइने नियम भएपनि उद्योग संञ्चालकले सबै नियमलाई मिचेर जुस उद्योग संचालन गर्दै आएका थिए ।
एकहप्ता अघि मन्थली बजार अनुगमनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवारको संयोजक्तवमा निस्किएको बजार अनुगमन टोलीले अवैद्य रुपमा जुस उत्पादन गरि विक्रीबितरण गरेको फेला पारेपछि एकहप्ताको लागि बन्द गराएको थियो । अनुगमन टोलीले उद्योग संचालक रामबाबु गिरीलाई एकहप्ता भित्र उद्योग दर्ता गरेर आवश्यक कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थिती हुन निर्देशन दिएको थियो ।


अनुगमन समितिले दिएको म्याद भित्र उद्योग दर्ता गर्न कागजात सहित  खाद्य तथा गुण परिक्षण विभागबाट उत्पादित जुसको नमुना परिक्षण गराई विभागले दिने अनुज्ञा–पत्र सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन दिएको समयसिमा सकिदा समेत उद्योग संचालक गिरीले आवश्यक कागजात लिएर घरेलु तथा साना उद्योग विकास कार्यालयमा उद्योग दर्ता गर्न नआएपछि कोसेली जुनार जुस उद्योग बन्द गर्न लागिएको घरेलु तथा साना उद्योग विकास कार्यालय रामेछापका बरिष्ठ उद्योग अधिकृत मेघनाथ गौतमले जानकारी दिए ।
उनले भने– अनुगमन समितिले दिएको निर्देशन अनुसार उद्योग संचालक रामबाबु गिरीले कम्पनी रजिष्टार कार्यालयमा २०६८ सालमा कम्पनी दर्ता गरेको कागजात लिएर उद्योग दर्ता गर्न घरेलु कार्यालयमा आएका थिए । उनले कम्पनी रजिष्टार कार्यालयमा दर्ता गरेको कम्पनीको अपडेट अहिलेसम्म नगरेकाले उद्योग दर्ता गर्न    मिलेन । संचालक गिरीलाई कम्पनी अपडेट गरेर ल्याउँनु अनि उद्योग दर्ता हुन्छ भनेर कार्यालयबाट फिर्ता पठाएकोमा अहिलेसम्म उनी नफर्किएकाले उक्त उद्योग बन्द गर्न लागिएको उद्योग अधिकृत गौतमले बताए ।
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेको भरमा जुस उद्योग सञ्चालन गर्न नपाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन विभाग सिन्धुलीका प्रमुख प्रमोदचन्द्र पौडेलले जानकारी दिए । उनले भने– खाद्य तथा गुण नियन्त्रण विभागवाट उत्पादित जुसको नमुना परिक्षण गराएपछि पाइने अनुज्ञा–पत्र नलिएसम्म कुनै पनि हालतमा जुस बिक्री बितरण गर्न पाइदैन् ।


एकहप्ता अघि सहायक प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवारको संयोजक्तमा निस्किएको वजार अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयवाट निरज खड्का, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक श्रीशंकर श्रेष्ठ र संञ्चारकर्मीहरुको समेतको टोलीले जुुस उद्योगको अनुगमन गरेको थियो ।

Facebook Comments Box