जोशीको परिवारद्वारा सरकारले दिएको उपचार खर्च नलिने

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य उपचारका लागि सरकारले दिएको १० लाख रूपैयाँ उपचार खर्च जोशीको परिवारले नलीने बताएको छ ।
जोशीको स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले नेता जोशीलाई दिने भनेको १० लाख रकम लिन परिवारले अस्वीकार गरेको सञ्चार माध्यमलाई जानकारी दिएका छन् । पाण्डेका अनुसार प्रधानमन्त्री कार्यालयबाट उपचारका लागि सरकारले दिन लागेको जानकारी प्राप्त भए पनि जोशीको परिवारले उक्त सहयोग रकम अस्वीकार गरेको छ ।
मन्त्रिपरिषद बैठकले मस्तिष्क घातपछि उपचाररत जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।
शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुग्नुभएको थियोे । उहाँले सरकारको तर्फबाट १० लाख सहयोग गर्ने निर्णय गरेको बताउनुभएको थियो । फागुन १४ मा मस्तिष्कघात भएपछि अस्पताल भर्ना हुनुभएको जोशीको हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।