चुचुरेमा घरै पिच्छे पानीको धारा

रामेछाप । खानेपानीको चरम समस्या झेल्दै आएका गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेका उपभोक्ताको घरै पिच्छे खानेपानीको धारा झरेपछि स्थानिय उपभोक्ता खुशीले गदगद् भएका छन् ।
गाउँपालिकाले सदियौ देखी खानेपानीको समस्या झेल्दै आएका नागरिकहरुको घरघरमा धारा पुर्याउने योजना अघि वढाए सँगै चुचुरेमा खानेपानी पुगेको हो । वस्ती नजिकै खानेपानीको मुहान नभएकै कारण स्थानिय उपभोक्ताहरुले खोलामो दुषित पानी प्रयोग गर्दै आएका थिए । खोलामा बगिरहेको पानी खादा उपभोक्ताहरुमा जरो, टाइफाइड, जण्डिस, रुघाखोकी जस्ता रोगहरु लाग्दै आएको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेकी उपभोक्ता मनमाया तामाङले जानकारी दिइन ।
उनले भनिन्– हामीलाई खानेपानीको सधै समस्या थियो । वर्षातमा खोलामा बगेको धमिलो खानेपानी पिउने गर्नुपथ्यो । धमिलो पानी खाँदा गाउँका धेरै उपभोक्ताहरु बिरामी पनि परे । जरुवाको पानी लिन जाँदा जंगलमा जानु पर्ने वाध्यता थियो । पानी लिन जंगलमा महिलाहरु एक्लै दुक्लै जान सक्दैनथे । घरमा भएका पुरुषहरु कामको लागि घरवाहिर जानु पर्ने वाध्यता भएकाले हामीले वर्षौदेखी खोलामा वगेको धमिलो पानी खाएर निर्वाह गर्दै आएका थियौ । तर अहिले घरघरमा पानीको धारा झरेपछि गाउँका सवै उपभोक्ताहरु खुशीले गदगद भएको तामाङ बताउँछिन् ।
गाउँपालिकाले गएको आर्थिक वर्षको विनियोजीत वजेटवाट गाउँपालिकाको ६ वटै वडाहरुको खानेपानी अभाव भएको वस्ती पहिचान गरी ती वस्तीहरुमा घरै पिच्छे पानी पुर्याउने अभियान शुरुवात गरेको थियो । सोही अभियान अन्तर्गत पहिलो चरणमा वडा नं–१ चुचुरेमा उपभोक्ताहरुलाई पहिलो प्राथमिकतामा राखेर १ सय १८ वटा धारा निमार्ण गरी ती धारामा पानी खसालेको छ । चुचुरेका उपभोक्ताहरुले वस्ती आसपास पानीको मुहान नभएपछि चम्लार खोला र खिम्ती खोलाको धमिलो पानी उपभोग गर्दै आएका थिए । अहिले गाउँपालिकाले वजेट विनियोजन गरेपछि वस्ती माथीको जंगलको मुहानवाट रिजर्भ ट्याङकी निमार्ण गरी वस्तीमा खानेपानी पुर्याइएको गोकुलगंगा गाउँपालिका वडा नं– १ का वडा अध्यक्ष मणिकुमार लामाले जानकारी दिए ।
उनले भने– चुचुरेको सवै वस्तीमा खानेपानीको असुविधा छ । खानेपानीको असुविधा भएको वस्तीहरु पहिचान गरिसकेका छौं । पानीको अभाव झेलिरहेका वस्तीहरुमा पहिलो पटक १ सय १८ वटा धारा निमार्ण भइसकेर ती धारा मार्फत पानी वितरण गरिसकेका छौं भने बाँकी रहेका अन्य वस्तीहरुमा पनि धारा निमार्णको काम भइरहेकाले चाँडै नै ती वस्तीमा पनि शुद्ध खानेपानी वितरण गर्ने गरि काम अघि वढाइएको अध्यक्ष लामाले बताए ।
गाउँपालिकाले गएको आर्थिकवर्षमा गाउँपरिषदवाट पारित गरेर शुरुवात गरेको एक घर एक धारा अभियान अन्तर्गत यस चालु आर्थिक वर्षमा ८ सयवटा धारा निमार्ण गरिसक्ने गरि काम अघि वढाएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खडगवहादुर सुनुवारले जानकारी दिए । उनले भने– अबको दुई वर्ष भित्रमा गाउँपालिकाका ६ वटै वडाहरुमा वसोवास गर्ने उपभोक्ताहरुको घरघरमा खानेपानी पुरयाउने गरी दु्रत गतिमा काम गर्ने वताए ।