काठमाडौँ ः काठमाडौँको तीनकुने स्थित गैह्री गाउँमा शुक्रवार मध्य राति चार जनाको शव फेला परेको छ । धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । चार जना मध्य तिन जना दोलखाका स्थायी बासिन्दा हुन् ।
दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका र कुमारकी आमा करिब ७६ वर्षीया सुमित्रा रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिएका छन् । त्यस्तै मोरङ बेलबारी घर भएका अन्दाजी २१ वर्षका नवीन राईको पनि हत्या भएको अवस्थामा एकै स्थानमा शव फेला परेको हो ।
दिव्य सः मिलभित्र शुक्रवार राति ११ः५५ बजे चार जनाको शव भेटिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
हत्या आशङ्कामा अन्दाजी २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको थापाले बताएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको कनाइन महाशाखाबाट ट्र्याक कुकुर पनि लगिएको प्रवक्ता मैनालीले बताए । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । सःमिल दोलखा, कालिन्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने बालकृष्ण सिवाकोटीले सञ्चालन गरेको प्रहरीले जनाएको छ ।