रामेछाप । ओखलढुङ्गा जिल्लाको चम्पादेबी गाउँपालिकामा मनोसामाजिक परामर्शको साथमा १० दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गाउँपालिकाको १० वटै वडामा सञ्चालन भएको शिविरमा १ हजार २३० जनाले निशुल्क सेवा लिएका छन् ।
चम्पादेवी गाउँपालिकाको आयोजनामा ६० बर्ष माथिका नागरिकहरुको लागि निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । शिविर मार्फत दन्त रोगको उपचार, मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई परामर्श तथा औषधि वितरण र दिर्घरोगीहरुले नियमित सेवन गर्दै आएको औषधी वितरण गरिएको स्वास्थ्य शाखाका सिनियर अहेव ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
जंक फुड (पत्रुखाना) को सट्टामा बालकालिका र सबैले स्थानीय खानेकुरा खानुपर्ने लगायतका विषयमा नागरिकलाई स्वास्थ्य सचेतना समेत गराएको टिपिओ नेपालका कुमार पौडेलले जानकारी दिएका छन् । यसका साथै चम्पादेवी गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई झोला वितरण गरेको छ । पालिकाको सबै वडामा रहेका सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई कार्य सम्पादनमा सहजताका लागि झोला वितरण गरिएको जनाएको छ । साथै गाउँपालिकाको विभिन्न वडामा रहेका ७७ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई उपयोगी झोला वितरण समेत गरिएको छ ।