खानेपानी उपभोक्ता समितिको अध्यक्षमा–सुबेदी, कोषाध्यक्ष पद खाली

रामेछाप । मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २० औं साधारणसभाले अध्यक्षमा पूर्णवहादुर सुवेदीलाई निर्बिरोध चयन गरेको छ ।
समितिको अध्यक्ष पदमा दाबी गर्ने ५ जना आकांक्षी भएता पनि अन्त्यमा सहमतिमा सुवेदी निर्बिरोध अध्यक्ष बनेका हुन् । त्यसैगरी समितिको उपाध्यक्षमा दुई जनाको दाबी भएता पनि अन्त्यमा राजकुमार श्रेष्ठ (सजन) निर्बिरोध भएका थिए भने सचिव पदमा एक मात्रै उम्मेद्वार बनेका ढाकल बहादुर थापा पनि निर्बिरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी एघार वटा एरिया रहेको खानेपानी उपभोक्ता समितिको सदस्यहरुमा अम्बिका प्रसाद काफ्ले,, टहलबहादुर कार्की, दिनेशराज शर्मा, दीपकराज दाहाल, कृष्ण थापामगर, हरिशरण सुबेदी र बिरबहादुर खड्का रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा दीपककुमार क्षेत्री, भक्तवहादुर मानन्धर र निलराज जैशी निर्बिरोध निर्वाचित भएका छन् ।
समितिका निर्बिरोध निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिले आइतवार खानेपानी उपभोक्ता समितिको कार्यालयमा पद तथा गोपनियताको सपथ खुवाएको छ । समितिका पदाधिकारीहरुले आफ्नो पदभार ग्रहण गर्दै सबै उपभोक्ताहरुको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
मन्थली खानेपानी उपभोक्ता समिति मार्फत दैनिक खानेपानी उपभोग गर्दै आएका ९ सय ४२ जना सदस्यहरु रहेका छन् । जसमध्ये व्यक्तिगत धारा जडान गर्ने संख्या ८ सय ९२ जना रहेका छन्, भने सरकारी कार्यालयमा धारा जडान भएको संख्या ३५ वटा रहेको छ । त्यसैगरी सदरमुकाम मन्थलीमा रहेका विभिन्न संघसंस्थाहरुको नाममा धारा जडान गर्नेको संख्या १४ वटा रहेको छ भने अतिरिक्त सार्वजनिक धारा १ वटा रहेका छन् ।
खानेपानी उपभोक्ता समितिको कोषाध्यक्ष पद खाली
मन्थली खानेपानी उपभोक्ता समितिको २० औं साधारणसभा सम्पन्न भएता पनि समितिले कोषाध्यक्ष पदमा भने पदाधिकारी पाउन सकेन् ।
समितिको कोषाध्यक्ष पदमा आंकाक्षी खानेपानी उपभोक्ता समितिका सदस्य द्धय नेत्रबहादुर केसी र कृष्णवहादुर बस्नेत रहेका थिए । उनीहरु दुवैजनाले उक्त पद नछाड्ने अडान राखेपछि खानेपानी उपभोक्ता समितिका केही पदाधिकारीहरुले बार्ताको माध्यमबाट मिलाउन कोशिस गरेता पनि उनीहरु टसमस नभएपछि उक्त पद नै खाली राखेका छन् ।
कोषाध्यक्ष पदमा निर्बिरोध नहुँदा निर्वाचन नै गराएर भएता पनि पूर्णता दिनु पर्ने ठाउँमा निर्वाचन नगराएर कोषाध्यक्ष पद खालि राखेका हुन् । धेरै लामो समयसम्म खानेपानी उपभोक्ता समितिको सदस्य पदमा रहेर काम गर्दै आएकाले कोषाध्यक्ष पद आफुले पाउनु पर्ने अडान नेत्र केसीले राखेका थिए ।
त्यसैगरी आफुले पनि लामो समयसम्म खानेपानी उपभोक्ता समितिको सदस्य पदमा रहेर काम गर्नुको साथै समितिमा गएर प्रत्येक दिन लेखाको श्रेस्ता मिलाउने देखी आर्थिक हिसावकिताबको काम समेत गरेकाले कोषाध्यक्ष पद आफुले पाउनु पर्ने अडान कृष्ण बहादुर बस्नेतले गरेका थिए । यसरी कोषाध्यक्षका उम्मेदवार बनेका दुवै जनाको अडान नमिल्दा कोषाध्यक्ष पद रिक्त राखिएको श्रोतले बतायो ।
एउटा सदस्य पदका लागि चुनाब
मन्थली खानेपानी उपभोक्ता ससितिको २० औं साधारणसभामा कोषाध्यक्ष र एक सदस्य पद बाहेक अन्य सबै पदमा निर्बिरोध निर्वाचित गराएता पनि एक सदस्य पदमा भने मतदान नै भएको छ ।
समितिको एरिया नं २ क्याम्पस एरियाको सदस्य पदमा भने मतदान नै भएको हो । एरिया नं २ मा ९४ जना खोपानी उपभोक्ता समितिका साधारण सदस्यहरु रहेका थिए । सदस्य पदमा आंकाक्षी यमवहादुर बुढाथोकी र यमवहादुर थापा दुवै जनाले सदस्य पद नछाड्ने बताएपछि सो पदमा मतदान भएको हो ।
सदस्य पदमा भएको मतदानमा यमबहादुर बुढाथोकीले ३३ मत प्राप्त गरि सदस्य पदमा निर्वाचित भएका थिए भने अर्का सदस्य यमबहादुर थापाले २६ मत मात्र प्राप्त गरि निर्वाचनमा पराजित भएका थिए ।
समितिका पदाधिकारीको सपथमा पूर्व समितिका पदाधिकारीलाई खबरै भएन
मन्थली खानेपानी उपभोक्ता समितिको २० औं साधारणसभाबाट निर्वाचित पदाधिकारीहरुको सपथ कार्यक्रममा निर्वाचन मण्डलले खबरै गरेनन् ।
पूर्व समितिका पदाधिकारीहरुले नयाँ कार्य समितिलाई बुझाउनु पर्ने बझबुझारथ नै नगरि सपथ लिएका हुन् । यसअघि खानेपानी उपभोक्ता समितिको संस्थापन कालदेखी निरन्तर २३ वर्ष अध्यक्ष पदमा रहेर काम गरेका रामचन्द्र वियोगी, सचिव जयप्रकाश श्रेष्ठ र कोषाध्यक्ष उद्धबप्रसाद घिमिरेको अनुपस्थित रहेको थियो ।