खानीखोलाले पसल बगायो, १ सय ५० घर पहिरोको उच्च जोखिममा

रामेछाप । रामेछापमा केही दिनदेखी परेको अबिरल वर्षासँगै आएको वाढीले सुनापति गाउँपालिका वडा नं ४ बेथान स्थित खानीखोलामा शुक्रवार साँझ आएको बाढीले स्थानिय बाबुलाल तामाङको किनारा पसल बगाएको छ ।
खोलाले उनको पसल बगाउँदा पसलमा भएको सामान, लत्ता कपडा, नगद, फर्निचर लगाएतका सामाग्री गरि करिव ३ लाख रुपैयाँ वरावरको क्षति भएको छ । त्यस्तै सुनापति गाउँपालिका ४ डहुँका गर्जमान तामाङको एक तले ढुङ्गामाटाले बनेको घर र सोही गाउँका माधब तामाङको गोठ पनि पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
त्यसैगरी वर्षाका कारण बेथान भलबाडीका शेरवहादुर तामाङको ढुङ्गामाटोले बनेको दुई तले घर पनि पहिरोले पुरिएको छ । त्यस्तै वर्षाका कारण गएको पहिरोले सुनापति गाउँपालिका वडा नं १ गुन्सीभदौरेका ५० घरपरिवारमा क्षति पुर्याएको छ । गुन्सीभदौरेका बोजिनी टोल, सिम्पानी, रिसिङ टोल, सार्की टोल र सिम्पानीमा पहिरो जाँदा त्यस क्षेत्रमा सदियौदेखी बसोवास गर्दै आएका ५० घरमा पहिरोले क्षति पुर्याएको छ ।


पहिरोका कारण ८ वटा घर वस्नै नहुने गरि भत्एिका छन् भने ४२ घरपरिवार पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यस्तै पहिरोका कारण दोरम्वा शैलुङ्ग गाउँपालिकाका ६० घर पहिरोको उच्च वोखिममा रहेका छन् । सो गाउँपालिकाको वडा नं ६ लखनपुर गैराटोलका हरिप्रसाद गौतमको घरमा पहिरोले पूर्णरुपमा क्षति पुर्याएको छ भने सो टोलका १६ वटा घरमा पहिरोले क्षति पुर्याएको छ ।
त्यस्तै पहिरोले सोही गाउँको देवकोटा टोलमा २१ वटा घर, गेग्रिनी टोलमा ७ वटा, डाँडाटोलमा ७ वटा, सिस्नेरी पाठक टोलमा समेत पहिरोले क्षति पुर्याएको छ । यसैगरी लगातारको वर्षाका कारण सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवीको डोग्मा वस्तीमा समेत पहिरोले क्षति पुर्याएको छ । यसवाहेक पहिरोले खाँडादेवी गाउँपालिकाको थानसिङका १२ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् ।


त्यस्तै सोही पालिकाको चुल्ठेपानीमा पहिरो जाँदा एउटा घर पुरेको छ । त्यस्तै सोही पालिकाको थानसिङ र टिमुमा समेत पहिरो जाँदा केही घर विस्थापित भएका छन् । त्यस क्षेत्रमा लगतार रुपमा परेको अविरल वर्षाका कारण घरमाथि र घरमुनी दुवैतर्फवाट चिराचिरा परेर जमिन धाजा परेर पहिरो जाँदा त्यस क्षेत्रका नागरिकहरु प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

Facebook Comments Box