अन्तर्राष्ट्रिय रूपमा कोरोना भाइरसको नयाँ स्वरूप शक्तिशाली भएको भन्दै यसबाट बच्न थुप्रै देशले बेलायत यात्रामा प्रतिबन्ध लगाइरहेका छन् । अहिलेसम्म ४० भन्दा बढी देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् । यसका साथै अन्य युरोपेली मुलुक डेनमार्क, इटली र नेदरल्यान्ड्स तथा अस्ट्रेलियामा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको बताइएको छ । विज्ञहरूका अनुसार कोरोनाभाइरसको नयाँ प्रकार झन् सङ्क्रामक रहेको देखिए पनि थप घातक रहेको प्रमाण भने फेला परेको छैन । बेलायतको र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठनले त्यसको जोखिमको सन्दर्भमा ध्यान दिनू भनेको कुरा बिबिसीले लेखेको छ ।
फ्रान्स सरकारले बेलायतबाट आउने यात्रु तथा कार्गोमाथि प्रतिबन्ध लगाएको छ, जसका कारण ब्रिटेनको डोभर बन्दरगाहका सेवाहरू प्रभावित भएका छन् । यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले व्यापार सेवा पुनः शुरू गर्ने विषयमा फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँसँग कुराकानी गरिरहेको र समस्या चाँडै समाधान हुने बताएका छन् । यसैगरी हाम्रै छिमेकी मुलुक भारतले समेत बेलायतबाट हुने यात्रामा कडाइ गरेको छ । उता इरान, क्यानडा लगायत अरू थुप्रै मुलुकले पनि बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् ।
कोरोनाको नयाँ स्वरूप र थप नयाँ लहरहरू फैलिने चिन्तामा विभिन्न देशहरू रहेका बेला नेपालमा भने यसप्रति लापरबाही झनै बढिरहेको छ । पछिल्लो समय मानिसहरू कोरोनासँग डराउन छाडेको भन्दै जनस्वास्थ्य विज्ञहरूले चिन्ता गरिरहेका छन् । मुलुकका सार्वजनिक स्थल एवं यातायातजस्ता सेवा क्षेत्रमा कोरोनाविरुद्ध जनस्वास्थ्यका नियम तथा मापदण्ड पालना हुन छोडेको छ ।