कोरोनाले यस कारण बनाउदै छ कंगाल
विश्व अहिले कोरोना भाइरस (कोभिङ—१९) को आतंकले त्रसित छ । कोरोना संक्रमण विश्वभर तीब्ररुपमा सल्किदै गएको कारणबाट विश्व स्वास्थ्य संगठनले मार्च १३ तारिखमा महामारी नै घोषणा गरेको थियो । रोग फैलिने तीब्रताको कारण नेपाल लगायत दक्षिणपूर्वी एशियालाई उच्च जोखिम रहेको घोषणा समेत गरेको छ । कोरोना संक्रमणको जोखिम मानव स्वास्थ्यको साथसाथै आर्थिक क्षेत्रमा पनि गम्भिर हुदै गएको छ । कोरोना संक्रमणले विश्व अर्थतन्त्रमा पहिरो जाने क्रम बढ्दो छ । यस प्रकोपको कारणबाट ठुलै आर्थिक र मानवीय मूल्य चुकाउनु पर्ने देखिन्छ । विश्वको अर्थव्यवस्था धरासायी हुँदै गएकोले सर्वत्र चिन्ता र चासो सार्वजनिक भैराखेका छन् । कोरोनाले व्यक्ति, परिवार, समाज र देशलाई कंगाल बनाउदै छ ।
चीन, दक्षिणकोरिया, जापान, अमेरिका तथा यूरोपलगायतका औद्योगिक देशहरुमा उद्योगधन्दामा आएको मन्दीका कारण तेलको मूल्यमा ६८ प्रतिशतले गिरावट आएको छ । विश्वको शेयर बजार निरन्तर ओरालो लागेको छ । पर्यटन व्यवसाय धरासायीको अवस्थामा पुग्दै छ । मुलुकहरुमा कोरोना नियन्त्रणका लागि लकडाउनको लहर नै चलेको छ । हवाई यातायात ठप्पको अवस्थामा पुग्दै छ । यात्रु आवगमनको अवस्था घटेको कारणबाट आर्थिक गतिविधिमा शिथिलता आउनु स्वभाविकै हो । जसको कारणबाट कैयौं श्रमिकको रोजगारी गुम्दै छ । यसले व्यक्तिको दैनिक जीवनयापनका लागि खर्च जुटाउन पनि द्यौ द्यौ पर्ने चुनौति थपिने नै छ । आर्थिक गतिविधिमा हुने मन्दीको कारण राज्यको ढुकुटिमा नकारात्मक असर नपर्ने कुरै भएन । यसले विश्व अर्थतन्त्रमा गर्ने क्षति सन् २००३ मा फैलिएको सार्स संक्रमणको क्षतिभन्दा कैयौं गुणा बढी हुने अर्थविदले प्रक्षेपण गरिरहेका छन् । कोरोनाले अहिले सम्म विश्व अर्थतन्त्रमा करीब ८ खर्ब अमेरिकी डलर भन्दा बढी क्षति पुगेको अनुमान एशियाली विकास बैंकले गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले पनि कोरोनाको कारण विश्व आर्थिक बृद्धि दर ०.५ प्रतिशतले खुम्चिएर २.४ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । अझ यो क्रमको तीब्रता आगामी दिनहरुमा अझ बढ्ने आंकलन गरिएको छ ।
कोरोना भाइरसको संक्रमण नेपालको आर्थिक क्षेत्रमा नकरात्मक संकेतहरु देखिन थालेका छन् । नेपालको अर्थतन्त्रमा यसको अल्पकालिन र दीर्घकालिन कस्तो असर पर्ला ? सबैको चिन्ता र चिन्तन विषय बन्नु पर्दछ । आउदो दिनहरुमा यसको नतिजा कस्तो होला ? अध्ययन र अनुसन्धानबाट निकास खोज्न विलम्व गरिनु हुन्न । विश्वका उदीयमान अर्थतन्त्र भएका विशाल छिमेकी देशहरु चीन र भारत बाट कोरोना नियन्त्रण तथा अर्थव्यवस्थालाई सुदृढ पार्न आवश्यक सदभाव र सहयोग जुटाउने कौशल सरकारले देखाउन चुक्नु हुन्न् । नेपालको कुल ग्राहस्थ उत्पादन ०.०४ प्रतिशत अर्थात १२.१२ मिलियन अमेरिकी डलरमा खुम्चिने आंकलन गरिएको छ ।
नेपालको अर्थतन्त्र मूलतः पर्यटन उद्योग र वैदेशिक रोजगारले धानेको छ । यी दु्बै क्षेत्र कोरोना संक्रमणले धराशायी हुंदै गएको जगजाहेर नै छ । अन्य देशहरुसंग प्रत्यक्ष सरोकार र निर्भर रहने यी दुबै क्षेत्र अस्थिर र जोखिमपूर्ण मानिन्छन् । नेपालको पर्यटन र वैदेशिक रोजगार क्षेत्रमा कोरोनाको निर्मम प्रभाव पर्दै गएको छ । पर्यटन मन्दीले ग्रामिण भेगका स्थानिय पसले, नाङले पसले देखि, ठुला डिपार्टमेन्टल स्टोर, चिया पसल देखि पाँचतारे होटल, ट्याक्सी चालक देखि बस चालकहरुलाई विस्तारै नकारात्मक असर पार्दै छ । अझ यसको गम्भिर असर महिलाको गर्भमा भएको शिशु देखि १८ वर्ष मुनिका बालबालिकाहरुमा प्रत्यक्षरुमा देखिएको छ । हाल कोरोनाको खोप स्वास्थ्यकर्मी बाट शुरु गरि सप्पुर्ण व्यक्तीमा ३ महिना भित्र लागाई सक्ने घोषणा नेपाल सरकारले गरेता पनि त्यस भित्र १८ बर्ष भित्रका बाल बालिकालाई सो खोप लागाउन नमिल्ने भनिएको छ । जसको कारण एक वर्ष देखि शैक्षिक क्षेत्रमा पर्दै आएको असर झन बढ्ने देखिन्छ । यसको नकारात्मक असर शैक्षिक क्षेत्रमा परिरहेको र क्रमश बढ्दै जाने निश्चित नै छ ।
विश्वभरी नै पर्यटन क्षेत्र कोरोनाको चपेटामा नराम्रोसँग थलिएको छ । कोरोना संक्रमणको गति हेर्दा पर्यटन व्यवसाय तंग्रिन लामै समय लाग्ने निश्चत छ । विश्वभर चलेको लकडाउनको निरन्तरताले आन्तरिक तथा वाह्य पर्यटकको आवगमनका प्राय ठप्प छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्रयाउने सपना पनि अधुरै रहयो । पर्यटन उद्योगसँग सम्बन्धित व्यवसाय होटल रेस्टुरा, यातायात, टूर गाइड आदिमा मन्दी आउने तीब्रता बढ्दै छ । राष्ट्रिय, अन्तर्राष्ट्रि उडानहरु विश्वभर रद्द तथा स्थगित हुदैछन् । देशको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पु¥याउदै आएको वैदेशिक रोजगारीमा पनि कटौति वा बन्द नै भैराखेको छ । कतिपय रोजगारदाता देशहरुले कामदारको संख्या कटौति या धमाधम फिर्ता पठाउदै गरेका छन् । यसको प्रत्यक्ष असर स्थानिय संस्था तथा बाह्य संस्थाहरुमा पर्नगई कामहरु ठप्प भएका छन । यसैगरी रोजगारी गुमाउनेमा पर्यटन उद्योग र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु नै पहिलो निसानामा परेका छन् । वैदेशिक रोजगारबाट आएको पैसामा शहर बजारमा बसाई सरेका कतिपय परिवारको बिचल्ली नै नहोला भन्न सकिन्न ।
कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी अनौपचारिक क्षेत्रमा कार्यरत जनसमुदायलाई परेको टड्कारो देखिन्छ । यस वर्गमा रहेका जनसमुदायमा पर्याप्त स्वास्थ्य जनचेतनाको अभाव मात्र नभएर आर्थिक रुपमा पनि कमजोर भएकाले संक्रमणबाट जोगिन आवश्यक सुरक्षाका उपायहरु अवलम्बन गर्न सक्दैनन् । सुरक्षित पेसाको अभावमा दिनभरी कमाएर विहान बेलुकाको छाक टार्ने श्रमिकको लागि यो महामारीले सबैभन्दा बढी ग्रसित पार्नुका साथै दुखका साथ भन्नुपर्छ यसैकारण आत्माहत्याको दर बढ्दो रुपमा भएको पनि देखिन्छ । सरकारले यस्ता विपन्न र निमुखा जनसमुदायको पहिचान गरी राहतको सुविधा प्रदान गर्ने नीति लिनु लोककल्याणकारी राज्यको प्रमुख दायित्व हो । अन्यथा रोजिरोटीको गर्जो टार्न यो वा त्यो ठाउँमा भौंतारिन विबस यो वर्ग नै जान अन्जानमा भाइरस फैलाउने प्रमुख एजेन्ट नबन्लान भन्न सकिन्न । पिछडिएका क्षेत्रमा बसोबास गर्ने अधिकाँशको दिगो र सुरक्षित रोजगारी नभएका मानिसको स्वस्थ एवम् स्वच्छ गाँस, बास र कपासको न्यूनतम व्यवस्था गर्न सके देखि कोरोना संक्रमण फैलिन केहि हदसम्म रोक्न टेवा पुग्ने तर्फ हेक्का राख्न बिर्सनु भूल हुन सक्छ । राज्यले अभिभावकत्व लिएको महसुस सबै जनताले गर्न पाउने परिस्थिती सिर्जना गर्न सरकार चुक्नु हुन्न ।
कोरोेना भाइरसको महामारीले ल्याएको विसम परिस्थितिसँग सावधानीपूर्वक जुध्नुको विकल्प हाम्रो सामु छैन् । आत्तिनु भन्दा पनि संयमतापूर्वक सामना गर्दै अन्य देशहरुबाट पाठ सिकेर कोरोना प्रतिरोधका आक्रमक रणनीति बनाउनु बुद्धिमानी ठहर्छ । साथसाथै देश आत्मनिर्भर बन्ने उपाय र क्षेत्रहरु प्हिचान गरेर विदेशिएका युवा जनशक्तिलाई स्वदेशमा नै पसिना बगाउने अवसर खोजिनुका साथै घरमा बस्ने महिलाहरुको लागि घरेलु हाते सिपका तालिमहरुको ब्यवस्था गरिनु पर्दछ । नेपाल कृषिप्रधान देश भनिए तापनि अहिले घट्दै गएर ६५ प्रतिशत जनसंख्या मात्र कृषिमा निर्भर छन् । त्यस्तै उद्योग धन्दाहरु धमाधम बन्द भएका छन् । सूचना र प्रविधिसँग सरोकार राख्ने पेशा व्यवसाय त्यति फस्टाएका छैनन् । रोजगार सिर्जना गर्ने खालका व्यवसायहरु संचालनमा स्पष्ट र दिगो नीति नभएको सरोकार पक्षको गुनासाको रौचिरा विश्लेषणबाट निष्कर्षमा पुग्न विलम्ब गरिनु हुन्न । जनता र सरकारको परस्पर सहकार्य भरपर्दो भएमा पक्कै पनि कोरोना आक्रमणलाई निस्तेज पार्न सकिने चीनको सफलताबाट हामीले पनि सिक्नु पर्दछ ।