कामदारलाई कम तलब दिए ११ लाख डलर जरिवाना, चार वर्षसम्मको

अस्ट्रेलियाली कार्यस्थल कानूनमा संशोधनसहित कर्मचारीहरूको ‘श्रम शोषण’ गर्ने रोजगारदातामाथि कडा कारबाही गरिने अस्ट्रेलियन सरकारको भनाइ छ ।
अस्ट्रेलियाली कानून अनुसार कामदारले पाउनुपर्ने भन्दा कम तलब दिने, सञ्चय कोष नतिर्ने र तलब सहितको बिरामी र वार्षिक बिदा नदिने रोजगारदाताहरूलाई ११ लाख डलरको जरिवाना र चार वर्ष सम्मको जेल सजाय हुनसक्ने संघीय सरकारले जनाएको छ । देशको कार्यस्थलसम्बन्धी कानूनमा संशोधन गर्न सरकारले संसद समक्ष पेश गरेको प्रस्तावमा उक्त योजना पनि समावेश गरिएको छ ।
थाहा पाएर पनि कम तलब दिने वा तलबबारे गलत गणना गर्ने व्यवसायहरूले ५५ लाख डलर सम्मको जरिवाना पनि तिर्नुपर्ने नियम संशोधन प्रस्तावमा उल्लेख गरिएको छ । भूलवस भएको पहिलो गल्तीलाई भने सरकारले केही छुट दिने सरकारको भनाइ छ । जानीजानी आफ्ना कर्मचारीमाथि शोषण गर्ने बेइमान व्यवसाय सञ्चालकहरूबाट कामदारहरूलाई सुरक्षित राख्न यो कानुन निकै महत्वपूर्ण हुने नेपाली विद्यार्थी आयुष खतिवडा बताए ।
कतिपय नेपाली विद्यार्थीहरू यस्ता जानकारीबाट बन्चित भएका कारण निकै कम मूल्यमा काम गर्न बाध्य भैरहेको शर्माको भनाई छ ।
प्रारम्भमा अन्य काम नपाउँंदा प्रलोभनमा परेर कम मूल्यमा काम गर्न बध्य भएको अनुभव खतिवडाले सुनाए । यस्तो श्रम शोषण भैरहेको छ भने फेयर वर्क्स एम्बुसडमनमा गुनासो लिएर कारबाही अनि क्षतिपूर्तिका लागि जान सक्ने प्रावधान रहे पनि पीडित विद्यार्थीहरू जानकारीको अभावमा अलमलमा पर्ने गरेको उनको बताए । कोरोनाभाइरस महामारीपछि देशको अर्थतन्त्रलाई उकास्न अस्ट्रेलियाको कार्यस्थलसम्बन्धी कानूनमा हाल रहेका समस्यालाई हटाउन संशोधनको प्रस्ताव अगाडि बढाइएको हो ।
एक वा त्यो भन्दा बढीको संख्यामा कामदारहरूलाई मापदण्डभन्दा कम तलब दिंँदै तलब चोरीको आरोपमा दोषी ठहर भएका रोजगारदाताहरूलाई पाँच वर्षसम्म कुनै व्यवसायको सञ्चालन गर्नबाट पनि प्रतिबन्ध लगाइने छ । अस्ट्रेलियन सरकारको श्रम विभागले तोकेको प्रतिघन्टा कम्तिमा १९ डलर ८४ सेन्ट हुनुपर्ने छ भने क्याजुयलको हकमा भने यसको २५ प्रतिशत लोडिङ हुनुपर्ने छ ।
तर कयैन् साना तथा घरेलु उद्योगहरूमा विद्यार्थीहरूलाई निकै कम तलबमा काम लगाउने समस्या देखिन थालेपछि सरकारले यस सम्बन्धमा कडा कानूनी प्रावधान ल्याउन लागेको हो ।

Facebook Comments Box