चार महिनाअघि रामेछापमा स्थापना भएको करदाता सेवा कार्यालयमा कर अधिकृत नहुँदा सबै सेवा ठप्प भएको छ । गत असोज महिनाको तेस्रो हप्तावाट संचालनमा आएको करदाता सेवा कार्यालयमा कार्यरत कर अधिकृत तुलसिराम पन्थीको दुई हप्ताअघि आन्तरिक राजश्व विभागमा सरुवा भएपछि उनले जिल्ला छाडेका थिए । अधिकृत पन्थीको ठाउँमा राजश्व अनुसन्धान विभागवाट बिनोद प्रसाद आचार्यलाई रामेछाप सरुवा गरेको भएता पनि उनी हालसम्म रामेछापमा हाजिर भएका छैनन् ।
कर अधिकृत पन्थीले नयाँ कर अधिकृत नआएसम्म काम चलाउनु भन्दै आफ्नो युजर आइडी कार्यालयमा छाडेर गएकाले केही समय त्यही युजर आइडी प्रयोग गर्दै कार्यालयमा कार्यरत कर्मचारीहरुले सेवाग्राहीको काम गर्दै आएका थिए । अहिले उक्त युजर आइडीको समय सिमा सकिएपछि कर कार्यालयको सवै सेवा ठप्प भएको करदाता सेवा कार्यालय रामेछापका डाटाइन्ट्री सुपर भाइजर नविन घिमिरेले जानकारी दिए । उनले भने– मैले कार्यालयको तर्फवाट पटक–पटक कर अधिकृत नहुँदा सेवाग्राहीको काम प्रभावित भएको बिषयमा सम्वन्धित विभागमा जानकारी गराए । तर अहिलेसम्म पनि विभागले कार्यालयमा प्रमुख नपठाउँदा धेरै सेवाग्राहीले सेवा पाउनवाट वञ्चित हुनु परेको छ ।
करदाता सेवा कार्यालयमा व्यक्तिगत प्यान लिनको लागि आएको एकहप्ता भइसक्दा पनि कार्यालय प्रमुख नभएको भन्दै आफ्नो काम नहुँदा त्यतिकै होटलमा खर्च गरेर वस्नु परेको गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेकी सुनिता लामाले बताइन । उनले भनिन्– काम हुन्छ भनेर गाउँ देखी खर्च गरेर आए । फेरी गाउँ जाउँ भने कहिले आउँनु । नागरिकको काम सहज हुन्छ भन्ने सुनेको थिए, तर सुने जस्तो हैनरछ लामाले दुखेसो गरिन ।
यता आफ्नो व्यवसायको कारोवार थप र कर चुक्ताको सिफारिस लिन आएको एकहप्ता वितिसक्दा पनि काम नभएको अर्का सेवाग्राही गोकुलगंगा गाउँपालिका वडा नं–४ बेतालीका बिनोद फुयालले जानकारी दिए । उनले भने– सरकारी कार्यालयमा काम लिएर जाँदा कार्यालय प्रमुख छैनन् भन्दै सेवाग्राही फर्काउनु गैर जिम्वेवारी पूर्ण कुरा हो । आफुजस्तै धेरै सेवाग्राहीहरु करदाता कार्यालयमा पुगेर काम बिना नै फर्कनु परेको बताए ।
करदाता सेवा कार्यालयमा कर अधिकृत नभएको भन्दै सेवाग्राहीले सेवा नपाएको बिषयमा आफुलाई जानकारी नभएको रामेछापका प्रमख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताए । उनले भने– नागरिकले सेवा नपाएको बिषयमा भर्खरै आफुले थाहा पाएकाले तत्काल सम्वन्धित विभागमा जानकारी लिने कर अधिकृत तुरुन्त झिकाएर सेवालाई निरन्तरता दिन प्रजिअ शर्माले बताए ।