ओलीले महन्थलाइ प्रधाानमन्त्री बनाउने योजना

काठमाण्डौं । प्रधानमन्त्रीले विश्वासको मत लिने आधार नभएको बताउँदै राजीनामासमेत नदिइ नयाँ सरकार गठनको आग्रह राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिएपछि ओलीले के गर्न लागेका हुन् भन्ने देशमा अन्योलता देखिएको छ । प्रधानमन्त्री र राष्ट्रपतिका क्रियामा विपक्षी दल प्रतिक्रियामा सीमित हुँदा ओलीले एकपछि अर्को कदम चालिरहेका छन् । ओलीको योजनालाई संविधान कानुनको बेवास्ता गर्दै राष्ट्रपतिले धमाधम साथ दिइरहेकी छन् ।
ओलीले ७६(५) बमोजिमको प्रक्रियामा सहजीकरणको बाटो लिएपछि धेरैले शुक्रबार नयाँ प्रधानमन्त्रीमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरको नाम अघि बढ्न सक्ने आकलन गरेका छन् । ओलीले यसअघि चलेका हरेक कदममा ठाकुर समूहले सहयोगसमेत गर्दै आएको छ ।
उपधारा ५ बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन पत्राचार गरेकै दिन बिहीबार साँझ ओलीले पुनः ठाकुर र जसपाका नेता राजेन्द्र महतोसँग बालुवाटारमा भेटसमेत गरेका छन् । यसअघि ठाकुर समूहले ओलीविरुद्ध विश्वासको मत विभाजनका क्रममा तटस्थ बसेको थियो । विश्वासको मतबारे जसपाभित्र आन्तरिक किचलो रहेको अवस्थामा ठाकुर समूहले ओलीले चाहेकै विकल्प रोजिदिएको थियो । राजनीतिक स्रोतहरुका अनुसार उपधारा ५ बमोजिमको विकल्पमा ओलीले ठाकुरलाई साथ दिने सम्भावना पनि उत्तिकै छ । जसपा निकट स्रोतका अनुसार चुनावी सरकारको नेतृत्व ठाकुरले पाउने सम्भावना छ । तर, प्रतिनिधि सभामा विश्वासको मत पाउने अवस्था न्यून छ । यसअघि ठाकुर समूहसँग रुष्ट रहेका उपेन्द्र यादव यसबारे मौन छन् । अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले भने उपधारा ५ भित्रै रहेर विकल्प खोज्नुपर्ने राय पटक पटक पेस गरिरहेका छन् । ओलीको रहस्यमय कदम, यादवको मौनता र बाबुरामको यू–टर्नलाई कतिपयले दक्षिणी छिमेकीसँगको चाहना भनेर व्याख्या समेत गरेका छन् ।
‘भारत त नेपालको राजनीति विवादको निरुपण चुनाव नै देखिरहेको छ । प्रतिनिधिसभा विघटनमा पनि मौन समर्थन थियो । महन्थजीले यसअघि अन्तिम समयमा भारतकै कुरा सुनेर विश्वासको मतमा तटस्थ बस्नुभएकै हो । सम्भवतः रणनीति अनुसार नै काम भएमा चुनाव सरकारको नेतृत्व ठाकुरजीकै पोल्टामा जान पनि सक्छ । जसपाका शीर्ष नेताहरुको पछिल्लो गतिविधिले पनि संकेत गर्छ । असम्भव छैन तर विश्वासको मत त फेरि पनि पाउने सम्भवना छैन । जता लागे पनि स्थिति त चुनावै हो’, जसपा निकट स्रोतको दाबी छ ।
उपधारा ५ अनुसारको अहिलेको प्रक्रिया अघि बढेर अन्य कोहीले पनि प्रधानमन्त्रीमा दाबी गर्न सक्छन ्। तर, विश्वासको मत पाउन सक्ने आधार प्रस्तुत हुनुपर्छ । त्यस्तो आधार राष्ट्रपतिले नदेखेमा शुक्रबार साँझ नै प्रतिनिधिसभा विघटन पुनः हुनसक्ने अवस्था पनि आकलन गर्न थालिएको छ । यदि त्यसो भएमा ओलीले नै दोस्रो पटक प्रतिनिधिसभा विघटन सिफारिस गर्न अवस्था बन्नेछ ।