एसियाली खेलकुदको २१ औं संस्करण कतारको दोहामा आयोजना हुने

एसियाली क्षेत्रको सबैभन्दा ठूलो खेल मेला एसियाली खेलकुदको २१ औं संस्करण कतारको दोहामा आयोजना हुने भएको छ । ओमानको मस्कटस्थित जेडब्लू मेरियट होटलमा भएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को साधारण सभाका दौरान भएको ४५ राष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधिको मतका आधारमा सन् २०३० का लागि कतारले एसियाली खेलकुद आयोजनाको जिम्मेवारी पाएको हो । दोहाले सर्वाधिक मत प्राप्त गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
दोहाले २७, रियादले १० मत प्राप्त गरेको थियो भने ८ मत कसैको पक्षमा परेन । दाहोले यसअघि सन् २००६ मा एसियाली खेलकुद आयोजना गरेको छ । त्यस्तै सन् २०३४ मा हुने एसियाली खेलकुदको २२ औं संस्करणको आयोजनाको जिम्मेवारी रियादले पाएको छ । आउने १४ वर्ष सम्मका लागि एसियाली खेलकुद आयोजनाको जिम्मेवारीको निधो भइसकेको छ । ओसिएको साधारण सभामा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठले भाग लिएका थिए । केहि दिनअघि दोहाको पक्षमा मत माग्न त्यहाँका प्रतिनिधि नेपाल आएका थिए । कतारले दुई वर्षपछि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्व कप आयोजना गर्दैछ ।