एडिबीले बनाएको विद्यालय भवनमा पानी चुहियो, कक्षा कोठा डुबानमा

रामेछाप । एशियाली विकास बैंकको आर्थिक सहयोगमा मन्थली नगरपालिका वडा नं १२ गेलुमा रहेको श्री माध्यमिक विद्यालय सिक्रालको भर्खरै निमार्ण सम्पन्न भएको नयाँ सुविधा सम्पन्न विद्यालय भवनको छतबाट भुईतलासम्म पानी चुहिएर कक्षा कोठा डुबानमा परेको छ ।
२०७२ सालको विनासकारी भुकम्पले भएको पुरानो विद्यालय भवन क्षतविक्षत वनाएपछि त्यस स्थानमा एशियाली विकास बैंकको आर्थिक सहयोगमा नयाँ भवन निमार्ण भएको हो । भवन निमार्णको जिम्मेवारी पाएको खानी निमार्ण सेवा प्रालिले कमजोर र गुणस्तहिन सामाग्री प्रयोग गरेका कारण नयाँ भवनको छतबाट पानि चुहिएको स्थानिय अभिभावकहरुले आरोप लगाएका छन् ।


गेलुको सिक्रालमा निमार्ण सम्पन्न भएका दुईवटा भवनको लागि एशियालीविकास बैंकको ७ करोड ४६ लाख २४ हजार ७ सय ४५ रुपैयाँको लागतमा निमार्ण सम्पन्न भएको हो । २०७५ सालमा निमार्ण कार्य शुरु भएको उक्त भवन २०७७ चैत्र २८ गते सम्पन्न भएको थियो । निमार्ण सम्पन्न भएका दुईवटा भवनमा गरि २१ वटा कक्षा कोठा, ६ वटा शौचालय र घेरावार समेत रहेको श्री माध्यमिक विद्यालयका प्रध्यानध्यापक पबन खड्काले जानकारी दिए ।
उनले भने– विद्यालयको नयाँ भवन सम्पन्न भएको धेरै समय भएको छैन् । हामीले भवन जिम्मा लिइसकेका पनि छैनौ । निमार्ण व्यवसायीले भवन निमार्ण सँगै विद्यालयका कक्षा कोठामा डेस्क, बेन्च लगाएका सामाग्रीहरु राखेकाले ती सामाग्रीहरु भने विद्यालयले बुझेको छ । अहिले भवन निमार्ण सम्पन्न भइसकेपछि विद्यार्थीहरुलाई नयाँ भवनका कक्षा कोठामा राखेर पढाई शुभारम्भ गरेका थियौं । वर्षादका कारण आकाशको पानी सबै भवन भित्र छिरेको छ । कक्षा कोठाभरी पानी भरिएपछि अहिले ती कक्षा कोठामा पढाई बन्द गरिएको प्रअ खडकाले बताए ।


भुकम्पले भएको पुरानो विद्यालय भवन भत्किएपछि एडिबीले नयाँ भवन बनाइदियो भनेर धेरै खुशि भएका थियौ । निमार्ण व्यवसायीले भवन बनाइसकेर विद्यालयलाई हस्तान्तरण नै नगर्दै वर्षादको पानी चुहिएर विद्यार्थी कक्षा कोठामानै बस्न सकेका छैनन् । अर्कोतिर विद्यालयमा जडान भएको विद्युत लाइन सर्ट भएर विद्यार्थीहरुलाई करेन्ट लाग्ने पो हीकि भन्ने चिन्ताले आफुहरुलाई सताएको मन्थली नगरपालिका वडा नं १२ गेलुका कर्णवहादुर पाण्डेले जानकारी दिए ।
उनले भने– विद्यालयमा विहान सद्धे पठाएका बालबालिकाहरु बेलुका सद्धे घर आउँछन की आउँदैनन् भन्ने चिन्ताले सबै अभिभावकहरुलाई सताउने गरेको छ । विद्यालयको घेरावार सबै लडेको छ । भुईतलामा गरेको ढलान सबै उक्किएको छ । विद्यालय निमार्ण गर्दा धेरै लार्पवाही भएको अभिभावक पाण्डेले बताए ।


विद्यालय भवन निमार्ण व्यवसायीले विधिवत रुपमा हस्तान्तरण गर्न बाँकी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुशहरी बुढाले जानकारी दिए । उनले भने– हामीले दुईवटै विद्यालयको छतवाट भुईतलाका कक्षा कोठासम्म पानी चुहिएको बिषयमा सम्वन्धित निमार्ण व्यवसायी र जिल्ला आयोजना कार्यालय (शिक्षा) लाई जानकारी गराइसकेका छौं । निमार्ण व्यवसायीले भवनको मर्मत सम्भार र लडेका सबै वालहरु नलगाएसम्म विद्यालय भवन नबुझ्ने अध्यक्ष बुढाले बताए ।


विद्यालयको भवन निमार्ण भएपछि विद्यार्थीहरुले ढुक्कसँग अध्ययन गर्ने सोच वनाएपनि विद्यार्थीहरुको उक्त सोच पुरा हुन नसकेको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए । उनले भने– नयाँ भवन निमार्ण भएर विद्यालयलाई हस्तान्तरण नगर्दै पानी चुहिएर कक्षा कोठामा विद्यार्थी बस्न सक्ने अवस्था छैन् । अहिले ती कक्षा कोठामा चुहिएको पानी थाप्न बाटा प्रयोग गर्नुपर्ने अवस्था आएको छ । यस विषयमा तत्काल मर्मत सम्भार गर्न सम्वन्धित निमार्ण व्यवसायीलाई निर्देशन दिएको पनि नगर प्रमुख बस्नेतले बताए ।

Facebook Comments Box