एक करोड ६ लाखको डिपबोरिङ्ग खानेपानी योजना अलपत्र

रामेछाप । रामेछाप नगरपालिकाले १ करोड ६ लाख रुपैयाँ खर्चेर खानेपानी अभाव झेल्दै आएका उपभोक्ताहरुलाई भूमिगत पानी निकालेर बितरण गर्ने योजना अघि सारेको भएता पनि उक्त योजना बजेट अभावका कारण अलपत्र परेको छ ।
रामेछाप नगरपालिकाले आफ्नो पालिकाको बजेट र बागमती प्रदेश सरकावाट आएको बजेटबाट वडा नं–६ ओख्रेनीको भालुखोपडाँडा, वडा नं–७ सुकाजोरको कालिकुवा र वडा नं–८ रामेछापको केबलेश्वरमा गरि संचालन गरिएको तीनवटै योजना बजेट अभाव हुँदा अधुरो नै रहेका छन् । सदियौ देखी परम्परागत रुपमा खादै आएका खानेपानीका मुहान सुकेपछि त्यस गाउँका नागरिकहरुले प्रयाप्त मात्रामा पानी उपभोग गर्न पाएका छैनन् ।
नगरपालिकाले तीनवटा वडाका नागरिकहरुलाई जमिन मूनिको भूमिगत पानी विद्युतीय माध्यमवाट निकालेर बितरण गर्ने योजना एकवर्ष देखी अलपत्र रहेको हो । पहाडी डाँडामा २ सय १० मिटर जमिनमूनीवाट पानी निकालिएको छ । जमिन मुनीको पानी निकालेर पनि उपभोक्ताहरुलाई वितरण गर्न सकिएको छैन् । गाउँमा भूमिगत पानी निकालेर छाडेको पनि एकवर्ष बित्यो । अझै उक्त पानी रिजर्भ ट्याङ्कीमा लगेर वितरण गर्ने काम हुननसक्दा उपभोक्ताहरु खानेपानीको अभावमा झेल्न बाध्य हुनुपरेको रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरका सुधिर कार्कीले जानकारी दिए ।
उनले भने– परम्परा देखी उपभोग गर्दै आएको सुकाजोरको कालीकुवाको पानी सुक्यो । अन्यत्र गाउँमा खानेपानीको वैकल्पीक मुहान छैनन् । गाउँमा पानी ल्याउन कित सुनकोशी नदीवाट लिफ्ट गर्नुपर्ने हुन्छ, कित सुकाजोर खोलाको पानी । हामीले अहिले जेनतेन छतिवने खोलाको पानी लिफ्ट मार्फत उपभोग गर्दै आएका छौ । त्यो पानी पनि प्रयाप्त नहुँदा उपभोक्ता मारमा छन् । गाउँमा खानेपानीको चरम समस्या छ । भएका पानीको मुहानहरु एकपछि अर्को गर्दै सुकेर गए । यस्तो पानीको हाहाकार भएको स्थानमा प्रदेश सरकार र रामेछाप नगरपालिकाको वजेटवाट जमिन मूनिको पानी निकाले पनि त्यो पानि उपभोक्ताहरुलाई वितरण गर्न नसक्दा उपभोक्ताहरु धेरै मारमा परेकाले चाडो भन्दा चाडो उक्त पानी संचालन गरेर उपभोक्तालाई पानीको लागि सहजता पुरा गर्नुपर्ने रामेछाप नगरपालिका वडा नं–६ ओख्रेनीका चक्रबहादुर तामाङले जानकारी दिए । उनले भने– पालिकाले संचालन गरेका तीनवटै योजना सम्पन्न भए ओख्रेनीको भालुखोप, सुकाजोर रामेछापको केबलश्वरका गरि करिव १ हजार ५ सय घरधुरी उपभोक्ता प्रत्यक्ष लाभान्बित हुने छन् । अहिले यी क्षेत्रमा पानीको अभाव हुँदा स्थानियहरुले घरमा पाल्दै आएका चौपाया समेत पाल्न छाडेका छन् ।

 नगरपालिकाको बजेट र बागमती प्रदेश सरकारको वजेट गरी तीनवटा भूमिगत योजना संचालन गरेको भएता पनि ती योजना बजेटको अभावका कारण पुरा गर्न सकिएको छैन । हामीले संचालन गरेका योजनाहरु कसरी सम्पन्न गर्न सकिन्छ भनेर लागि परेका छौं रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले जानकारी दिए । उनले भने– पालिकामा केन्द्र र प्रदेशबाट आउनु पर्ने वजेट कटौती भएर आयो, पालिकामा वजेट अभाव छ, रकम अभावका कारण हामीले यसवर्ष पनि सो कामलाई निरन्तरता दिन सकेनौं । आगामी वर्षसम्म जसरी भएता पनि ती तिनवटै योजनाको काम सम्पन्न गरेर उपभोक्ताहरुलाई खानेपानी खुवाउने योजनामा आफु लागि परेको प्रमुख थापामागरले बताए ।

Facebook Comments Box