उचित मूल्य नपाएपछि अलैची किसान मारमा

रामेछाप । रामेछापको उच्च लेकाली भुभागका किसानहरुले लगाएको अलैचीको उचित मूल्य नपाउँदा किसानहरु मारमा परेका छन् ।
परम्परागत रुपमा मकै, कोदो, गहुँ लगाएतका बालीहरुमा उत्पादनमा गिरावट आउन थालेपछि बैकल्पीक रुपमा अलैची खेती शुरु गरेका हुन् । अन्य बालीहरु भन्दा किसानहरु अलैची खेतीवाट सोचेभन्दा वढी आम्दानी हुने भएपछि सो खेती तर्फ लागेका थिए । किसानहरुले लगाएको उत्पादित अलैची खरिद गर्न व्यवसायीहरु घरघरमै आउने र भाउ पनि राम्रो आउने भएपछि एकपछि अर्को गर्दै धेरै किसानहरु अन्य परम्परागत खेतीहरु त्यागेर अलैची खेती व्यवसायीक तरीकाले लगाउन शुरुवात गरेका हुन् ।
विगत वर्षहरुमा प्रति केजी २ हजार ६ सय रुपैयाँसम्म गाउँमै विक्री वितरण गरेका किसानहरुले यसवर्ष प्रति केजी ५ सय रुपैयाँमा पनि विक्री नभएपछि अलैची घरघरमै थन्काएर बस्न बिवस छन् । उत्पादन अनुसार विक्री नै नभएपछि अलैची खेतीप्रति आर्कषित भएका किसानहरु मारमा परेका हुन् । विशेष गरि अलैची खेती रामेछापको उच्च भुभाग अन्तर्गत उमाकुण्ड गाउँपालिकाको गुम्देल,वाम्ती, कुभुकास्थली, प्रिती, भुजी, गुप्तेश्वर लगाएतका स्थानहरुमा वढी मात्रामा लगाइने गरिन्छ ।
गतवर्षको अनुपातमा यसवर्ष अलैची उत्पादन पनि कम भएको छ । गतवर्ष केही समय खडेरी परेर विरुवा सप्रन पाएपछि उत्पादन वढेको थियो भने यसवर्ष वढी मात्रामा जरा कुहिने र पात समेत खुईलिने रोग लागेपछि अलैची उत्पादनमा कमी आएको उमाकुण्ड गाउँपालिका वडा नं–३ कुभुकास्थलीका किसान बालकुमार कार्कीले वताए ।
उनले भने– विगत वर्षको भन्दा यसवर्ष उत्पादनमा धेरै कमी आयो । उत्पान घटेपनि अहिले अलैचीको मुल्य कौडीको भाउँमा विक्री गर्नुपर्ने अवस्था आएको छ । अलैची अहिले प्रतिकेजी ५ सय रुपैयाँमा पनि विक्री हुन छाडेपछि गाउँका धेरै किसानहरु मारमा परेका छन् । घरमा अहिले १० टन भन्दा वढी अलैची बिक्रि नभई त्यतीकै बाँकी रहेको दुःखेसो किसान कार्कीले गरे ।
रामेछापको उत्तरी क्षेत्रमा विशेष गरि ग्लोसाइ, रामशाही र चिवेशाही गरि तीन प्रजातीका अलैचीका विरुवाहरु लगाइने गरिन्छ । लेकाली भुभागमा वर्षातको समयमा वढी मात्रामा पानी पर्ने र हिउँदको समयमा वढी हिमपात सहित तुषारो पर्ने गरेकाले पनि अलैची खेती लगाउने किसानहरुको आम्दानी मौसम अनुसार घटवड हुने गरेको कुवुस्काथलीका अर्का किसान भरतकुमार वस्नेतले जानकारी दिए ।
शुरुशुरुमा अलैची उत्पादन गर्ने किसानहरुको घरघरमै वाहिर वाट खरिद गर्न आउने व्यवसायीहरु अहिले अलैचीको मुल्य घटेसँगै खरिद गर्न आउन छाडेका छन् । पहिला त गाउँघरमै प्रति केजी २ हजार ६ सय रुपैयाँसम्म पनि विक्री हुन्थ्यो । अलैची छ भन्ने थाहा पाएपछि धेरै व्यवसायीहरु आउँथे । तर यसवर्ष अलैची उत्पादन कमी हुँदा पनि गाउँमा विक्री वितरण ठप्प हुँदा अलैची किसानहरु थप मारमा परेको उमाकुण्ड गाउँपालिका वडा नं–२ वाम्तीका रोकट वस्नेतले जानकारी दिए ।
उनले भने– पहिला अलैचि खरिद गर्नको लागि झापा, विराटनगर, विरगंज र काठमाण्डौंका विभिन्न व्यवसायीहरु गाउँमै आउँथे । तर अहिले त्यस्तो छैन । गाउँकै केही व्यक्तिले गाउँका किसानहरुको घरघरमा पुगेर संकलन गर्ने गरेका छन् तर त्यो पनि विक्री हुन सकेको छैन ।
रामेछापको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्वा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकामा गरी करिव ५ सय भन्दा वढी किसानहरुले अलैची खेती गर्दै आएका छन् । किसानहरुले उत्पादन गरेको अलैची विक्रीको लागि केही व्यवसायीहरुसँग छलफल भइरहेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरवहादुर सुनुवारले जानकारी दिए ।