अध्यक्षलाई लक्ष्यहिन र असक्षम भन्दै गालि गरेपछि……

रामेछाप । खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमवहादुर तामाङले सोही पालिकाको वडा नं–२ मझुवाका वडा अध्यक्ष इन्द्र लामालाई असक्षम र लक्ष्यबिहिन भन्दै गालि गरेको बिषयलाई लिएर वडा अध्यक्ष तामाङले आपत्ति जनाएका छन् ।
खाँडादेवी गाउँपालिकामा केही दिन अघि भएको नेकपा ओली समुहको सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङ्गले असक्षम, लक्ष्यविहिन र वडा स्तरमा कुनै पनि काम गर्न नसक्ने भन्दै तथानाम गालिगलौज गरेको बिषयलाई लिएर वडा नं–२ मझुवाका वडा अध्यक्ष इन्द्र लामाले एक विज्ञप्ती जारी गर्दै पालिका अध्यक्ष तामाङको भनाई प्रति घोर भत्र्सना जनाएका हुन् ।
नेकपा ओली समुहको कार्यक्रममा सहभागी भएका कार्यकर्ताको माझ पालिकामा आफुले गरेको कमी कमजोरी र पालिका भित्रका अनियमितता लगाएतका बिषयमा ढाकछोप गर्न आफुलाई गालिगलौजमा उत्रिएको खाँडादेवी गाउँपालिका वडा नं–२ मझुवाका वडा अध्यक्ष इन्द्र लामाले जानकारी दिए ।
उनले भने– मझुवामा आउने वजेट तीनवर्षदेखी गाउँपालिकाका प्रमुख तामाङले कटौती गरेका छन् । वडास्तरमा आउने वजेट मध्ये ४० प्रतिशत मात्रै वडामा दिने र बाँकी ६० प्रतिशत रकम आफै पालिकास्तरवाट खर्च गर्दै आएका छन् । वडामा दिनु पर्ने वजेट पालिकावाट खर्च गर्ने प्रबृत्ति अरु नागरिकहरुले थाहा पाउने भएपछि उनले उल्टै आफुलाई विभिन्न लान्छना लगाएर गालि गलौजमा उत्रिएको अध्यक्ष लामाले बताए ।
गाउँपालिकाका प्रमुख तामाङले आफु माथि लगाएको सबै आरोप प्रमाणित गर्न वडा अध्यक्ष लामाले चुनौती समेत दिएका छन् । वडामा आउनु पर्ने वजेट मध्ये गाउँपालिकाले कटौती गरि दिएको ४० प्रतिशत रकमले वडास्तरमा खानेपानी, शिक्षा, स्वास्थ्य, सडक र विद्युतमा खर्च भएको छ । थोरै रकमले पनि वडास्तरमा सुन्दर र उदाहरणिय काम भएको छ । वडामा आएको वजेटले काम भएको छैन भन्ने पालिका प्रमुखलाई पालिकाको भन्दा वडामा राम्रो काम भएकाले हेर्न आउँन वडा अध्यक्ष लामाले चुनौती बिज्ञप्ती मार्फत दिएका छन् ।