अग्नि नियन्त्रक अनुशिक्षण तालिम सकियो

रामेछाप । उपकरणहरु भएर पनि दक्ष जनशक्तिको अभावमा समस्या झेल्दै आएपछि जिल्लाका बिभिन्न निकायका पदाधिकारीहरुलाई अग्नि नियन्त्रक अनुशिक्षण तालिम प्रदान गरिएको छ ।
जिल्ला सदरमुकाम मन्थलीमा मन्थली नगरपालिका र नागरिक उड्डन कार्यालयको आर्थिक सहयोगमा शसस्त्र प्रहरी वल आश्रीत गुल्म मन्थलीले तीन दिने तालिमको आयोजना गरेको थियो । तालिममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटीका सदस्यहरु, डिभिजन वन कार्यालयका कर्मचारीहरु र स्वसेवक गरि ३५ जनाको सहभागीता रहेको थियो ।
तीनदिनसम्म चलेको उक्त तालिम शुुक्रवारवाट सकिएको छ । तालिम समापन कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जिल्लाको दक्षिणी भेग पुरै सुख्खाग्रस्त भएकाले हिउँदको समयमा दैनिक जसो आगलागी हुने र वर्षादको समयमा पानी पर्दा धेरै ठाउँमा पहिरो गई ठूलो धनजनको क्षती व्यहोर्नुपरेको जानकारी दिए ।
उनले भने–विपद्को समयमा हुनसक्ने सम्भावित घटनाहरुबाट जोगिन र भइहाले पनि उद्धार र राहात कसरी पुुर्याउने भन्ने बिषय गहन भएकाले यो तालिमको आयोजना गरेको हो । आगामी वर्ष नगरपालिकाले योजना नै बनाएर पुरै वडाहरुमा अग्नि नियन्त्रक अनुशिक्षण तालिम लैजाने बताए ।
तालिम समापन कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवारले जिल्लामा प्राप्त भएका अग्नि नियन्त्रक उपकरणहरु हुँदाहुँदै पनि ती उपकरणहरु चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा समस्या झेल्दै आएको भएता पनि यस तालिमले आगामी दिनमा उपकरणहरु चलाउन सक्ने दक्ष जनशक्ति उत्पादन भएकोमा खुशी व्यक्त गरे । उनले भोलीका दिनमा हुनसक्ने सम्भावित विपद्का घटनाहरु यदी भइहाले भने अहिले उत्पादन भएको जनशक्तिले घटना नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्नसक्ने अपेक्षा समेत गरे ।
तालिममा सहभागीहरुले तीनदिनसम्म सिकेको सिपलाई व्यवहारमा उतार्न सक्दा जिल्लामा हुने आगलागी लगाएतका घटना नियन्त्रणमा थप टेवा पुुग्ने अपेक्षा लिएको सशस्त्र प्रहरी बल आश्रीत गुल्म मन्थलीका प्रहरी नायव उपरिक्षक केशवराज प्याकुुरेलले जानकारी दिए । उनले भने– हिउँदको समयमा धेरै सामुदायिक वनहरुमा आगलागी भइरहेका छन् । तालीम सिकेका साथीहरुले आगलागी लगाएतका घटना न्युुनिकरणको प्रयास गर्ने विश्वास लिएको प्रनाउ प्याकुरेलले बताए ।